स्थानीय कर्मचारीले निजामती सेवा दिवस किन बहिष्कार गरे ?

  • प्रकाशित मिति : २०८० भाद्र २२, शुक्रबार
  • कुमार दाहाल

आज निजामति सेवा दिवस । यो दिवश मनाउन थालेको धेरै भएको छैन। तर अहिले सम्म यो दिवसले सबै कर्मचारीको मन जित्न सकेन। दिवसले उत्साह दिनुपर्छ । तर यो दिवश औपचारिकतामा सीमित हुँदै गएको छ।

यो औपचारीकता भित्र दिवसले समग्र कर्मचारीमा उत्साह र अपनत्व लिनै सकेन। अहिले स्थानीय तहका कर्मचारीले निजामती सेवा दिवश बहिस्कार गर्ने निर्णय किन गरे? अहिलेको निजामती सेवाकाे चरित्र बुझ्ने यो एउटा महत्वपूर्ण आयाम हो।

म्याक्स वेबरकाे कर्मचारी तन्त्रको धारणाले युरोपभरी आन्तरिक राष्ट्रवादलाई उचाईमा पुर्यायो । ब्युरोकेसीको योग्यता प्रणालीको सुरुवात चीन भन्दा अन्तराष्ट्रिय सिद्धान्त प्रतिपादन गर्ने अमेरिकाले ब्युरोकेसीलाई जनताको अभिन्न अंगको रुपमा स्थापित गर्यो । ती देशमा ब्युरोकेसीले राष्ट्रियताको पहिचान दिन्छन्। संसारमा ब्युरोक्रेसी बिनाको राजनीति सम्भव छैन। बेलायत, क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलिया जस्ता देशको राष्ट्रियता व्युरोकेसीको सेवा प्रवाहमा चिनिएको छ। त्यहाँ भ्रष्टाचार छैन ।

उत्तरदायी शासन छ। जनताले कर्मचारीलाई र कर्मचारीले जनतालाई विश्वास गर्छन्। तैपनि त्यहाँका युवाहरु सरकारी जागिर त्यति रुचाउँदैनन्। किनकि सरकारी जागिरमा आफ्नो योग्यताको पूर्ण उपयोग हुन्छ भन्ने कुरामा उनीहरुलाई विश्वास छैन। आत्मसन्तुष्टि र केहि गर्न सक्छु भन्ने युवाहरु सरकारी जागिरप्रति उत्साहित हुन्छन्। तर नेपालमा सरकारी जागिर बेरोजगारकाे विकल्पको रूपमा रहेको छ। यो विकल्पकाे मानसिकताले दिवस उत्साहका साथ मनाउन सक्छ र।

कर्मचारितन्त्र जनता र सरकारलाई जोड्ने कडि हाे। यसले देशको शासन, नीति र आन्तरिक राष्ट्रवादलाई मजबूत गराउँछ। तर यो कुरो हाम्रोमा राजनीति र प्रशासनले बुझे जस्तो लाग्दैन ।राजनीति मेरो गोरुको बारै टक्कामा अगाडि बढेको छ। प्रशासन त्यही बारै टक्काकाे सन्तुष्टिमा रमाएको छ। याे अवस्था भित्र कर्मचारीका मर्का, तनाव, मनोबल, उत्प्रेरणा कहाँ पुगेका छन्। नेपालको कर्मचारीतन्त्रको गहिरो अध्ययन गर्ने हो भने यो सजिलै देखिन्छ। जागिर भित्रै थुप्रै अवसरको खोजी गर्ने कर्मचारीहरुले सच्चा मनले कहिलेदेखि दिवश मनाउन थाल्छन। याे उत्सुकताको विषय हो।

ट्रेड युनियनहरुले कर्मचारीलाई विभाजन नै गरिदिए ।काम नगर्नेलाई पनि प्रोत्साहन गरे । राजनीतिक नजरबाट मात्र कर्मचारी चिन्ने अवस्था यिनीहरुले सिर्जना गरिदिए । स्थानिय र प्रदेश तहमा बेलैमा स्थायी कर्मचारी पठाउन नसक्दा करारका कर्मचारी थुप्रै नियुक्ति हुँदैछन्।

उनीहरूको सेवा सुविधा र जागिरको अवधि निश्चित छैन ।उनीहरु पनि निजामति सेवा प्रति अपनत्व देखाउँदैनन्। किनकि एक अनिश्चितताले उनीहरुलाई घेरेको छ । निजामती सेवा संघीय र स्थानीय तहका कुन-कुन सेवा हुन् भन्ने विषयमा स्थानीय तहका कर्मचारी अन्योलमा छन् ।नीतिगत रुपमा स्थानीय सेवा निजामती सेवा नै हो। तर निजामती सेवाकाे मर्म र यसको नीतिले स्थानीय कर्मचारीलाई आफ्नो अपनत्व भित्र ल्याउन सकेको छैन। किन ? यसको जवाफ विज्ञहरुलाई थाहा होला.। याे खाडलले गर्दा आज स्थानीय तहका कर्मचारीहरु निजामती सेवा दिवश नमनाउने निर्णयमा पुगेका छन्। किनकि उनीहरु यो सेवालाई आफ्नो सेवा हो भन्दैनन् र यहाँ सम्झाउने पनि कोही छैन।

संघीयता अघि निजामती सेवा बलियो थियो तर विश्वासिलो थिएन। संघीयतापछि शासनका सबै तहमा कर्मचारीको नीति कानून एकीकरण गर्नु जरुरी थियो। तर निजामती सेवा ऐन आजसम्म आएन। एेन नआउनुमा राजनीतिको भन्दा कर्मचारीको स्वार्थ समूह बढी जिम्मेवार छ । कमसेकम यो दिवसको दिन ल्याएको भए एउटा कोशेढुङ्गा निर्माण हुन्थ्यो।

सायद निराश कर्मचारी केही आशावादी पनि हुन्थे। यो भोली आउने नै छ। यही दिवसकै दिन नै भए केही उत्साह थपिन्थ्यो। यसप्रति कसैको चेत छैन। निजामती सेवा ऐन समयमा नआउँदा तीन तहका कर्मचारीमा विभेद भैसक्यो । यो विभेद हटाउन प्रशासनिक विज्ञताकाे दबाव खासै देखिँदैन । थुप्रै अनिश्चय र समस्याका बीचमा कर्मचारीले सच्चा हृदयले दिवश मनाउन सक्लान् र ।

सरकारी जागिर संसारमा कमजोर मानिँदैन । अनाकर्षक मानिँदैन। किनकि सरकारी जागिरमा अपनत्व, स्थायित्व, अभिभावकत्व ,राष्ट्र प्रतिको जिम्मेवारीपन ,जनताको सेवा मूल्यवान् हुन्छन । जुन अवसर र सन्तुष्टि जतिसुकै ठुलो पद भए पनि अन्य क्षेत्रमा पाइँदैन । तर हाम्रोमा राजनीति र कर्मचारीतन्त्रले आफ्नो योग्यताको सही प्रयोग गर्न नसक्दा यी मूल्यहरु स्थापित हुन सकेका छैनन् । सही गल्ती गर्दा मेरो नेतृत्वले मलाई सम्झाउँछ भन्ने विश्वास कर्मचारीमा पर्न सकेको छैन । बिस्तारै कर्मचारीतन्त्र भित्र व्यक्तिवाद हावी हुँदै गएको छ । कसैले कसैको विश्वास गर्ने र नतिजामा प्रखर हुने गुण बिलाउँदै गएको छ । दिवश मनाउन कानुन, नीति, नेतृत्व संरक्षक बन्नैपर्छ । अनिश्चितताको अन्त्य हुनैपर्छ । एउटा कर्मचारीले निजामती सेवाभित्र आफ्नो वर्तमान र भविष्य प्रष्ट देख्ने वातावरण हुनुपर्छ । दिवसले कर्मचारीहरूको भावनात्मक एकीकरण गर्न सक्नुपर्छ। तब मात्र यो राष्ट्रिय दिवसको रुपमा स्थापित हुन्छ।

लेखक दाहाल नेपाल सरकारका सहसचिव हुन् ।