लोकसेवा आयोगले तीन सहसचिवलाई सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको छ। सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिव बढुवामा सिफारिस गरेको हो। तीन मध्ये कोही एक जनालाई आज बस्ने क्याबिनेटले बढुवा गर्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल भाद्र ५ गते उमेरहदका कारण निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस भएका सहसचिवहरुमध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।
पौडेल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् भने सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।
त्यस्तै आजै बस्ने क्याबिनेटले गृह सचिव परिवर्तन गर्ने बुझिएको छ। लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई गृह ल्याउन गृहमन्त्री लागिपरेको श्रोतको भनाई छ।