सरुवा व्यवस्थापन कार्यदलको सुझाव अनुसार सामान्य प्रशासन मन्त्री मोदीले यसरी गर्दैछन् सरुवा

  • प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार
  • chhanbin.com

भौगोलिक क्षेत्रको अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निवेदन मागेको छ । निश्चित भौगोलिक क्षेत्रमा लामो समय कार्यरत कर्मचारीलाई अर्को भौगोलिक क्षेत्रमा सरुवा गर्ने उद्देश्यले मन्त्री अमनलाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले कर्मचारीबाट निवेदन मागेको हो ।

केही दिनअघि मन्त्रालयद्वारा गठित सरुवा व्यवस्थापन कार्यदलले तीन वर्ष अवधि पूरा भएका कर्मचारीलाई सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्यदलको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा मन्त्रीको निर्देशनबमोजिम सरुवाको निवेदन माग्ने निर्णय भएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले बताए । मोदीले पहुँचविहीन सधैँभरि विकटमै रहिरहनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउँदै आएका थिए । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको छ ।

दुर्गम क्षेत्रमा अवधि पुगेकाको निवेदनका आधारमा उनीहरूलाई सुगम ल्याएर सुगमका कर्मचारीलाई दुर्गम पठाउने मन्त्रालयको तयारी छ । सूचना प्रणाली (पिआइएस) अद्यावधिक गर्नसमेत मन्त्रालयले भनेको छ । अहिले मन्त्रालयले सरुवा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

निजामती सेवा ऐनको व्यवस्थालाई टेकेर मन्त्रालयले कर्मचारीबाट सरुवाको निवेदन मागेको हो । निजामती सेवा ऐनको व्यवस्थाबमोजिम अवधि पुगेका र नियमावलीले तोकेको ‘क’देखि ‘घ’ वर्गको भौगोलिक क्षेत्रमा कार्यरत कर्मचारीलाई एक क्षेत्रबाट अर्कोमा सरुवा गर्ने गरी मन्त्रालयले सूचना जारी गरेको हो । कर्मचारी सूचना प्रणाली (पिआइएस) अद्यावधिक गरी नौ दिनभित्र मन्त्रालयले तोकेको ढाँचाबमोजिम निवेदन दिन सूचनामा भनिएको छ ।

ऐनमा ‘क’ र ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘घ’ वा ‘ग’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षका लागि र ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘ख’ वा ‘क’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षका लागि सरुवा गर्न सकिने व्यवस्था छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १८ मा निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउन सरुवा गर्ने व्यवस्था छ । उक्त दफाको उपदफा ३ मा विशेषज्ञताको सेवा लिनुपर्ने पदमा रहेको र स्थानीयस्तरमा अन्यत्र कतै पनि निजको सेवा, समूह वा उपसमूहसम्बन्धी पद तथा कार्यालय नभएको निजामती कर्मचारी र विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया वर्षमा एकपटक तोकिएबमोजिमको समय तालिकाअनुसार सरुवापत्रमा अवधि तोकी सरुवा गर्नुपर्ने व्यवस्था छ ।

त्यसमा ‘क’ र ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘घ’ वा ‘ग’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षका लागि र ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई ‘ख’ वा ‘क’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षका लागि सरुवा गर्न सकिने व्यवस्था छ ।

निजामती सेवा नियमावलीअनुसार यस्तो छ भौगोलिक क्षेत्रको विभाजन

क’ वर्गको भूगोल : ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखाको लामोबगर र रोल्वालिङ क्षेत्र, धादिङको सेतीवास उत्तरको सिंहार क्षेत्र, मनाङ, गोरखाको सैर्दिवास उत्तरको लार्के क्षेत्र, साबिकको धवलागिरि अञ्चलको टुकुचेभन्दा दक्षिणी क्षेत्रबाहेकको मुस्ताङ र उत्तरी बागलुङको ढोरपाटन क्षेत्र, रोल्पा, रुकुम, हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला ।

ख’ वर्गको भूगोल : पाँचथर, भोजपुर, तेह्रथुम, संखुवासभाको नुमसहित दक्षिणी क्षेत्र, ओखलढुंगा, खोटाङ, दोलखाको लामोबगर र रोल्वालिङ क्षेत्रबाहेक बाँकी क्षेत्र, रामेछाप, रसुवाको राम्चेभन्दा उत्तरको क्षेत्र, लमजुङको खुदी उत्तरी क्षेत्र, अर्घाखाँची र गुल्मी, म्याग्दी, पर्वत, मुस्ताङको टुकुचेभन्दा दक्षिणी क्षेत्र, उत्तरी बागलुङको ढोरपाटन क्षेत्र, म्याग्दीको निस्कोट पहाडबाट दक्षिणतर्फ बागलुङ जिल्लाको रातामाटा गाउँ हुँदै गुल्मी जिल्ला उत्तर–दक्षिण अक्षांश रेखाको पूर्वी भागबाहेकको बागलुङ, सल्यान, प्युठान, डोटी, अछाम, डडेल्धुरा, बैतडी र दैलेख ।

‘ग’ वर्गको भूगोल : इलाम, धनकुटा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र सेतीवास उत्तरको सिंहार क्षेत्रबाहेक बाँकी धादिङ जिल्ला, रसुवाको राम्चेसहित दक्षिण क्षेत्र, तनहुँ, स्याङ्जा, सेर्दीवास उत्तरको लार्के क्षेत्रबाहेक बाँकी गोरखा र लमजुङको खुदी उत्तरी क्षेत्रबाहेकको बाँकी भाग, पाल्पा, म्याग्दीको निरकोट पहाडबाट दक्षिणतर्फ बागलुङ जिल्लाको रातामाटा गाउँ हुँदै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अक्षांश रेखादेखि पूर्व पर्ने बागलुङ जिल्लाको बाँकी भाग, दाङ, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर ।

घ’ वर्गको भूगोल : झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, कास्की, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, काठमाडौं, भक्तपुर र ललितपुर ।