प्रचण्डलाई भेटेर ओलीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका यी ब्यक्तिको गरे खोजी

  • प्रकाशित मिति : २०८० बैशाख २३, शनिबार
  • chhanbin.com

नक्कली शरणार्थी प्रकरण चर्किएपछि एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुईपटक लामो संवाद गरेका छन् ।

तीन दिनको अन्तरालमा प्रधानमन्त्रीसँग दुईपटक लामो संवाद गरेका ओलीले केही नेताहरूको नाम गुपचुप रुपमा बचाउन खोजिएको सन्दर्भ उठाएका छन् ।

एमाले अध्यक्ष ओली र नेताहरूले यो प्रकरणमा कोही पनि दोषी नउम्किउन, निर्दोष नफसुन भन्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र एमाले सचिव टोपबहादुर रायमाझीको बचाउमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिए भन्ने चर्चा भइरहेको भए पनि ओलीले कांग्रेस र माओावदी नेताहरूलाई बचाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार प्रचण्डसँग भएकाे भेटमा ओलीले मुख्य रूपमा चारवटा विषयमा कुरा गरेका थिए । त्यसमध्ये भुटानी शरणार्थी प्रकरण पनि एक थियाे ।

ओलीले ती भेटमा नक्कली शरणार्थी प्रकरणमा जोडिएर सुरुमै पक्राउ परेका व्यक्तिको बयानमा भएको ‘बदमासी’माथि प्रश्न उठाएका छन् । ओलीले यो प्रकरणमा पक्राउ परेका आरोपितको बयान रोकिँदा नाम लिइएका मान्छेलाई जोगाउने प्रयास भएको आफूले जानकारी पाएको प्रधानमन्त्रीलाई बताएका थिए । उनले टोपबहादुर रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने र आफूसँग सम्पर्क नभएको पनि बताए ।

उनले पक्राउ परेका आरोपितले नाम लिएका व्यक्तिहरू पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेश पुन, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी श्रीमती मन्जु र कांग्रेस नेता तथा सांसद रामहरि खतिवडा भएको जानकारी प्रहरी र सरकारी वकिलबाट आफूले पाएको बताएका थिए ।

स्रोतका अनुसार आरोपितले राजनीतिक दलका नेताहरूलाई जोडेका थिए । त्यसक्रममा पक्राउ परेका एक आरोपितले एमाले सचिव टोपबहादुर रायमाझी मात्र होइन्, तत्कालीन गृहसचिव प्रेम राईसम्म मुछेका छन् ।

आरोपितले बयानका क्रममा उनीहरूको नाम मुछ्न थालेपछि बयान नै रोकिएको र बयान फेर्न लगाएको सम्मको चर्चा भएको थियो ।

शनिबारको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई त्यही प्रश्न उठाएका थिए । यद्यपि खाँणले शनिबार विज्ञप्ति निकालेर उक्त घटनामा संलग्न नभएको बताएका छन् ।

पुनलाई ३० लाख रुपैयाँ आईएमईमार्फत रकम बुझाएको एक महिलाले सार्वजनिक रुपमा बोलिसकेककी छन् । त्यसको जवाफ पुनले दिएका छैनन् ।

एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापासँग दोस्ती रहेका पुन माओावदी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवसमेत हुन् । पुन विगतमा अन्य विभिन्न प्रकरणमा मुछिदै र बच्दै आएका छन् । अहिले पनि उनलाई बचाउन खोजिएको एमाले नेताहरूको भनाइ छ ।

स्रोतका अनुसार ओलीले खाँण परिवार र पुनको विषयमा किन छानबिन नभएको भनेर प्रधानमन्त्रीसँग प्रश्न उठाएका थिए । ओलीले उक्त विषयमा विस्तृत विवरण प्रधानमन्त्री प्रचण्डलाई सुनाएपछि प्रचण्डले त्यसबारे थप विवरण र प्रष्टताका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत पठाउने जवाफ दिएका थिए ।

स्रोतका अनुसार दिउँसो दुई नेताबीच भएको त्यही छलफल अनुसार साँझ उपप्रधानमन्त्री श्रेष्ठ ओलीनिवास बालकोट जान सहमत भएका थिए । ओलीले नक्कली शरणार्थी प्रकरणमा यति कुरा गरे पनि रायमाझी र राईको नाम नलिएको बताइएको छ । ओलीले नेता विशेषका बचाउमा कुरा नगरेको प्रधानमन्त्री प्रचण्ड स्वयम्ले बताइसकेका छन् ।

सार्वजनिक रुपमा ओलीले सचिव रायमाझीको बचाउमा देखिए पनि पार्टीभित्र पनि सचिव रायमाझीका कारण समस्या भएको बताउने गरेका छन् ।

एमाले नेताहरूसँग अध्यक्ष ओलीले सचिव रायमाझी फरार भएर पार्टी र आफूलाई बदनाम बनाएको बताइरहेका छन् । त्यही कारण शनिवार साँझ एमाले नेताहरूलाई बालकोट बोलाएका थिए । त्यो छलफलमा सचिव रायमाझीलाई निलम्बन गर्ने सम्मको विषयमा छलफल तयारीमा थिए ।

त्यसो त, रायमाझी आँफैले ओलीलाई आफू उक्त प्रकरणमा संलग्न नभएको दाबी गरेका थिए । यद्यपि, ओलीले प्रहरीले पक्राउ पुर्जी जारी गरेकोले अनुसन्धानमा सहयोग गर्न ओलीले सुझाव दिएका थिए । तर, ओलीलाई जानकारी समेत नदिई फरार भएपछि सचिव रायमाझीसँग ओली थप रुष्ट भएको पनि एमाले स्रोतको भनाइ छ ।

साथै, शनिबार ओली र प्रचण्डबीचको छलफलमा संवैधानिक परिषद्को बैठकको विषयमा पनि छलफल भएको थियो । प्रधानन्यायधीश नियुक्तिका साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल भएको स्रोतका दाबी छ ।

सोही छलफलका आधारमा सोमबार साढे ५ बजे परिषद्को बैठक राख्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार परिषद् सदस्यहरूलाई आजै पत्राचार पनि भइसकेको छ ।

भेटमा आगामी आर्थिक वर्षकाे बजेटका सिद्धान्त, भाेलिबाट सुरु हुने संसद अधिवेशन र विधेयकहरूबारे पनि छलफल भएकाे थियाे ।