भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा स्वास्थ्योपचारपछि आइतबार राति स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफै बेहोर्ने भएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावमा दिल्ली पुगेर उपचार गरी फर्किएका पौडेलले आफ्नो उपचार खर्च आफैले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालमा बहालवाला सांसद्, राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूको उपचार खर्च राज्यलेनै बेहोर्दैआएको भएपनि उनले भने उपचार खर्च आफैले बेहोर्ने इच्छा प्रकट गरेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए।