रविलाई गृहमन्त्रालय दिन प्रधानमन्त्री भए राजी, प्रचण्डको निर्णय सङ्गै हिस्स भए काजी !

  • प्रकाशित मिति : २०८० बैशाख १८, सोमबार
  • chhanbin.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साविककै मन्त्रालय दिने आश्वासन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक देखिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीले रास्वपालाई फेरि गृह मन्त्रालय दिने आश्वासन दिएको बताएका छन्।

पुरानै जिम्मेवारी पाउने अवस्थामा सरकारमा जान सक्ने उनको भनाइ छ। रास्वपा कस्तो अवस्था र सर्तमा सरकारमा जान्छ? भन्ने जिज्ञासामा ढकालले भने, ‘सरकारमा जाने भन्ने निर्णय भइसकेको छैन यदि जाने अवस्थामा पुरानो अवस्था घटी नहुने, पुरानो जिम्मेवारी भन्दा कम नहुने,नीति तथा कार्यक्रममा भ्रष्टाचारको फाइल खुल्ने र पुनर्लेखन भनेर समेट्ने र सोही अनुसारको कार्यक्रम अगाडि बढ्नुपर्छ, सरकारको स्थिरताको ग्यारेन्टी हुनुपर्छ, सरकारमा बसेर काम गर्न दिइन्छ वा दिइदैन, त्यो विश्वासको वातावारण बन्नुपर्छ, यी हामी सरकारमा जाने अवस्था आएको खण्डमा हुनुपर्ने सर्तहरु हुन् तर रास्वपा सरकारमा जाने नजानेबारे आगामी शुक्रबार निर्णय हुनेछ।’

ढकालले सोमबारको केन्द्रीय समिति बैठकमा पार्टी,देश र जनताको लागि के फाइदा हुन्छ पार्टीले सोहि रणनीति अपनाउने गरी छलफल गरेको बताए। आगामी शुक्रबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा छलफल गरेर सरकारमा सहभागी हुने वा नहुने अथवा सहभागी भए कस्तो अवस्थामा हुने भनेर निर्णय लिने ढकालको भनाइ छ।

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई सरकारमा सहभागी गराउन लचक देखिएका छन्। प्रचण्डका पछिल्ला केहि दिनका सार्वजनिक अभिव्यक्तिमा रास्वापाप्रति लचक भएको झल्किएको छ भने आइतबार रास्वापा पार्टी सभापति लामिछानेलाई सरकारमा सहभागी भए पुराना फाईल खोल्ने बचन दिएका विवरणहरु सार्वजनिक भएका छन्।

प्रचण्डले रविलाई ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुन फाइल खोल्नुपर्ने हो तयार छु’ भनेका छन्। सोमबार चितवनमा पुगेका प्रचण्डले रवि लामिछानेले पुरानो मन्त्रालय दाबी गर्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन्।

नागरिकता बिबादमा सांसद पद खारेज भएपछि लामिछानेले गृहमन्त्री पद पनि गुमाएका थिए।

रवि बैशाख १० को उपचुनावमा चितवन २ बाट विजयी भएर आएपछि फेरि सरकारमा सहभागी हुने चर्चा छ। रविलाई गृहमन्त्री दिन प्रचण्ड राजी भए सङ्गै नारायणकाजी हिस्स हुने देखिएको छ।