आज कता-कता पर्छ पानी ?

  • प्रकाशित मिति : २०८० बैशाख १४, बिहीबार
  • chhanbin.com

आज (बिहीबार) देशका पहाडी भेगका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा देशका बाँकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

यस्तै आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भवना छैन।

‘आंशिक बदली (आकाशमा बादल) को सम्भावना मात्र देखिएको छ’, उनले भने।