के अपराध गरेको छु र राजीनामा दिनलाई ? मुख्यमन्त्री राउत

  • प्रकाशित मिति : २०७९ भाद्र ७, मंगलवार
  • chhanbin.com

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिन निर्देशन दिएका छन् । मधेस प्रदेशमा ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानका लागि साइकल खरिदमा आर्थिक अनियमितता भएको भन्दै मुद्दा विशेष अदालतमा पुगेपछि मुख्यमन्त्री राउत विवादमा तानिएका थिए ।

त्यही विवादका कारण जसपाभित्र मुख्यमन्त्री राउतलाई हटाउन नेताहरूले अध्यक्ष यादवमाथि दबाब बढाएका थिए । त्यही दबाबवीच अध्यक्ष यादवले सोमबार राउतलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ । तर, मुख्यमन्त्री तथा जसपा केन्द्रीय कार्यकारिणि सदस्य लालबाबु राउत भने उक्त कुरा स्वीकार्दैनन् । मंगलबार बिहान कुराकानी गर्दै मुख्यमन्त्री राउतले अध्यक्षले राजीनामा मागेको अस्वीकार गर्दै राजीनामाको सम्भावना नरहेको बताए । प्रस्तुत छ उनीसँग गरिएकाे संक्षिप्त कुराकानी:

तपाईंलाई अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीबाट राजीनामा दिन भन्नुभएको रहेछ नि ?

मलाई अहिलेसम्म राजीनामा दिन भनेर अध्यक्षले भन्नुभएको छैन । विभिन्न स्रोतको हवला दिएर बाहिर चर्चा गरिएको छ । तर, यो कुराबारे केही थाहा छैन । अध्यक्षले केही नभन्नुभएको कुरालाई कसरी निर्देशन आयो भनुँ । यो कुरा तपाईंहरूले प्रष्टसँग लेखिदिनोस् ।

कार्यकारिणि बैठकपछि हिजो राजीनामा दिन भनेको रे नि त ?

हिजो ७ बजेसम्म त हामी अफिसमा सँगै थियौँ । त्यतिबेलासम्म केही भएको छैन । पार्टीभित्र असन्तुष्टि होला । कसैलाई म हटेँ मुख्यमन्त्री भइन्छ भन्ने लागेको होला । पार्टीभित्र फरक विचारहरू छन् । उनीहरूका फरक स्वार्थ पनि होलान् । अनि विभिन्न प्रयास पनि गर्लान् तर तपाईंले जे भनिरहनुभएको छ त्यो विषयमा केही भएको छैन । बाहिर मसाला बनाएको विषयमात्रै हो ।

अध्यक्ष उपेन्द्र यादवकै भनाइ पनि आइरहेको छ नि त ?

हेर्नुस् अहिलेसम्म मलाई मुख्यमन्त्रीमा बचाएकै अध्यक्षले हो । मधेसको त्यस्तो उथलपुथलको समयमा पनि अध्यक्षले बचाएर म मुख्यमन्त्री पाँच वर्षसम्मै चलाउने स्थितिमा पुगेको हो । अहिले आएर मलाई हटाउनुपर्ने कारण के छ ? अहिले आएर के अपराध भयो ? यो चुनावको मुखमा मुख्यमन्त्री हटाउने अनि सरकार अस्थिर बनाउने काममा अध्यक्ष कसरी लाग्नुहुन्छ ? चुनावको मिति घोषणा भइसकेका कारण सरकार नै कामचलाऊ भइसक्यो । अनि अहिले सरकार फेर्नुपर्ने कसरी होला त ?

त्यसो भए राजीनामा दिने कुनै योजना छैन ?

अहिले राजीनामा किन दिने ? राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कारण नै के छ र ? मैले अहिले आएर के अपराध गरेको छु र राजीनामा दिनलाई ?