सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाको राजनीतिक वस्तुस्थितिबारे प्रतिवेदन पठाउन निर्देशन दिएको छ। बालुवाटारमा बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा भएको सहमतिअनुसार कांग्रेसले ७७ वटै जिल्लालाई राजनीतिक वस्तुस्थितिबारे प्रतिवेदन पठाउन निर्देशन दिएको हो।
केन्द्रीय कार्यलय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा केन्द्रले तोकेर पठाएका विषयमा अध्ययन र विश्लेषण गरी चैत २२ गतेभित्र सुझावसहित ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा प्राप्त हुने गरी अनिवार्य रुपमा प्रतिवेदन पठाउन भनिएको छ।
जिल्ला कार्यसमितिलाई पठाइएको परिपत्रमा कांग्रेसका जिल्ला सभापति संयोजक रहने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको जिल्लास्तरीय संयन्त्र गठन गर्न निर्देशन दिइएको छ। गठबन्धनमा रहेका दलका जिल्ला प्रमुखहरु सदस्य रहने उक्त संयन्त्रको बैठक शनिबार आयोजना गर्नु पर्ने परिपत्रमा उल्लेख छ।
कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई २०७४ को स्थानीय तह निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको जिल्ला समन्वय समिति, जिल्लाभित्रका सबै पालिका र वडाहरूमा प्राप्त मतको अवस्थाको अध्ययन र विश्लेषण गरेर राय सुझाव बुझाउन भनेको छ।
जिल्ला कार्यसमितिहरूले गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले र अन्य प्रतिस्पर्धी पार्टीले प्राप्त गरेको मतको अवस्था, गठबन्धनमा रहेका दलहरूको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत पनि विश्लेषण गर्नुपर्ने छ।
परिपत्रमा गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत तथा एमाले र प्रतिस्पर्धी अन्य पार्टीको सांगठनिक अवस्था र मतभारको प्रतिशत अवस्थाको अध्ययन र विश्लेषण गरेर राय सुझाव बुझाउन निर्देशन दिइएको छ।
कांग्रेसले शुक्रबार नै पालिकाहरुलाई पनि परिपत्र पठाएको छ। महानगर, उपमहानगर, नगर र गाउँपालिका कार्यसमितिहरूलाई पनि कांग्रेसले चैत २२ गतेभित्र केन्द्रले तोकेर पठाएका विषयमा अध्ययन र विश्लेषण गरी सुझावसहित ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा प्राप्त हुने गरी अनिवार्य रुपमा प्रतिवेदन पठाउन भनिएको छ।
परिपत्रअनुसार पालिका कार्यसमितिहरूले गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूको पालिका र कार्यालयअन्तर्गत वडाहरूमा प्राप्त मतको अवस्था, एमाले र अन्य प्रतिस्पर्धी पार्टीको प्राप्त मतको अवस्था अध्ययन र विश्लेषण गर्नुपर्ने छ।
यस्तै पालिकाभित्र गठबन्धनमा रहेका दलहरूको अलग–अलग वर्तमान सांगठनिक अवस्था र मतभार प्रतिशत, गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था र मतभार प्रतिशत तथा पालिकाभित्र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशतबारे केन्द्रलाई जानकारी गराउन भनिएको छ।
कांग्रेसले पालिकाहरुलाई पठाएको परिपत्रमा पार्टीका पालिका सभापतिहरूले गठबन्धनमा रहेका पालिकास्थित दलहरूका प्रमुखलाई आमन्त्रण गरी भोली (शनिबार) बैठक आयोजना गर्न भनेको छ। उक्त बैठकको अध्यक्षता कांग्रेसका पालिका सभापतिहरूले गर्ने बताइएको छ।