प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका हुन् ।
तीन दिने भ्रमणका लागि दिल्ली पुग्न लागेका देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन्।
प्रधानमन्त्री देउवासँग आज दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन्। भ्रमण टोली नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्ने बताइएको छ। विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता त्यहीँ तय भएको छ।
त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ। भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन्। आजको कार्यक्रम यति नै हो।