प्रधानमन्त्रीले औपचारिक भ्रमणमा अमूक पार्टीको पार्टी कार्यालय चाहर्नु जायज कि नाजायज ?

  • प्रकाशित मिति : २०७८ चैत्र १८, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणमा शुक्रबार नयाँ दिल्ली जाँदैछन्। पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

देउवाको भारत भ्रमणको कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ। मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधामन्त्री देउवाले भारतका उपराष्ट्रपति, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने छन्।

तर, नयाँ दिल्ली पुगेकै दिन देउवा दीनदयाल मार्गस्थित भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालय जाने कार्यक्रम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा समावेश गरिएको छैन। शनिबारदेखि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको देउवा शुक्रबार साँझ भाजपा कार्यालय पुगेर अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन्।

समाचार एजेन्सी एनआइले जनाएअनुसार भाजपा पार्टी कार्यालय पुगेर देउवाको अध्यक्ष नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।
देउवा पुग्ने भएपछि भाजपा कार्यालय सजाइएको छ। पार्टी कार्यालय परिसरभित्र चारैतर्फ देउवा र मोदीको तस्बिर अङ्कित पोस्टरहरू राखेर सजाइएको छ।

देशको प्रतिनिधित्व गरेर भारत भ्रमणमा गएकाबेला कुनै दलको पार्टी कार्यालय पुगेर सम्बन्धित दलको अध्यक्षसँग प्रधानमन्त्रीले भेट्ने यो पहिलोपटक हुनेछ। यसअघि भारत भ्रमणमा गएका प्रधानमन्त्रीहरू कुनै दलको पार्टी कार्यालय नै पुगेर भेटघाट गरेका छैनन्।

भ्रमणको पहिलो दिन नै कुनै ‘अमुख’ दलको पार्टी कार्यालय पुगेर सम्बन्धित दलको अध्यक्षसँग भेटवार्ता गर्नु ‘प्रोटोकल’ र कूटनीतिक मर्यादाविपरित रहेको विज्ञहरूको भनाई छ।

परराष्ट्र मन्त्रालयमा ‘प्रोटोकल’ प्रमुख रहिसकेको पूर्वसहसचिव गोपाल थापा विदेश भ्रमणका क्रममा प्रधानमन्त्री आफैं कुनै दलको कार्यालय पुगेर सम्बन्धित दलको अध्यक्षसँग भेटवार्ता गर्नु ‘प्रोटोकल’ विपरित रहेको बताउँछन्।

‘पहिलेका प्रधानमन्त्रीहरू पार्टी कार्यालय नै पुगेर कसैलाई भेटेको मलाई सम्झना छैन,’ थापा भन्छन्,‘यो नितान्त नयाँ हो। मलाई पनि अनौठो लागेको छ। याे प्रोटोकलभित्र पर्दै पर्दैन।’

भ्रमणका क्रममा पुगेकै दिन प्रधानमन्त्रीले पार्टी कार्यालय पुगेर कुनै दलका अध्यक्षसँग यसअघि कहिल्यै नभेटेको उनको भनाइ छ।‘यसअघि यस्ताे त कहिल्यै भएको छैन। विल्कुलै कूटनीतिक मर्यादाका फ्रेमभित्र पर्दैन,’ उनले भने।

यद्यपि मुलुकको हितको कुरा हुँदा प्रोटोकल मानिरहनु नपर्ने भए पनि त्यो कुरा जनताले थाहा पाउनुपर्ने थापाले बताए। ‘मुलुकको हित भयो भने प्रोटोकल मानिराख्नु परेन अहित भयो भने ठीक भएन। भेटघाटको एजेन्डा जनताले थापा पाउनुपर्‍यो,’ थापा भन्छन्।

भाजपा अध्यक्षसँग भेटघाटको एजेन्डा त सार्वजनिक गरिएको छैन नै, देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच हुने एजेन्डासमेत बाहिर ल्याइएको छैन। देशको नेतृत्व गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि छलफल हुने एजेन्डा जनतासामू सार्वजनिक गरिनुपर्ने विज्ञहरूको राय छ। छिमेकी मुलुकको भ्रमणमा जानुअघि छलफलका एजेन्डा सार्वजनिक नगरिनु अप्रजातान्त्रिक कार्य रहेको थापा बताउँछन्।

‘मुलुकको प्रधानमन्त्री भएर जाने मान्छे देशलाई नै थाहा छैन किन भेटिरहेको छ भने,’ उनी भन्छन्,‘गएको छ भन्ने थाहा छ। तर, एजेन्डा के हो कसैलाई थाहा छैन। अत्यन्तै अकूटनीतिक र अप्रजातान्त्रिक कुरा भयो।’

औपचारिक विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरू र प्रतिपक्षी दलहरूसँग छलफल गर्ने अभ्यास थियो।छलफलमा पूर्वप्रधानमन्त्रीहरूले भ्रमण सफल बनाउन राय सुझाव दिने गर्थे। तर, यसपटक भने प्रधानमन्त्री देउवाले त्यो परम्परा पनि तोडेका छन्।