प्रधानमन्त्री देउवाको बोलीमा प्रचण्डले मिलाए लोली, दुबैले भने- गठबन्धन एकै आन्द्रो बन्छ

  • प्रकाशित मिति : २०७८ चैत्र १७, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् ।

‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।

चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्ध बनाएर नै अगाडि बढ्ने दावी गरेका छन्। अध्यक्ष दाहालले नेपाली कांग्रेसको कार्य समितिको बैठकले पनि मिलेर नै अगाडि बढ्ने निर्णय गरिसकेकाले अबै गठबन्धमा कुनै दुविधा नभएको बताउँदै चुनावमा मिलेर अगाडि बढ्ने बताएका हुन्।

‘गठबन्धकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौं। नेपाली कांग्रेस कार्यसमितिले के गर्ला भन्ने थियो। कार्यसमितिको पनि करिबकरिब गठबन्धनलाई नै कायम राखेर जाने भन्ने भइसकेकपछि त्यसमा कुनै दुबिधा हामी भित्र छैन। हामी मिलेर नै जान्छौ,’ अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले अहिले नेपालमा अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमा नै उपाय खोज्नु पर्ने बताएका थिए। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नभइसकेकाले समयमा नै उपया अपनाउनु पर्ने अध्यक्ष दाहालले बताए।