लोकसेवाले बाटो खोलिदिए पछि तीन डीआइजीले पाए एआईजीको फूली, को बन्छ अब प्रहरीको मूली ?

  • प्रकाशित मिति : २०७८ चैत्र १७, बिहीबार
  • chhanbin.com

सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लोकसेवा आयोगले सिफारिस सदर गरेसँगै ३ जना डीआईजीलाई एआईजी बढुवा गर्न सरकारलाई बाटो खुलेको थियो।

तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो। बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समिति (लोकसेवा आयोग)मा उजुरी दिएका थिए।

उजुरी परेसँगै छानवीन समिति गठन गरेको थियो। उक्त समितिले छानविनपछि बढुवाको लागि सिफारिस गरेको थियो।  बढुवा भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ।

यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

यसैगरी सरकारले यौन हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने गर्ने निर्णय गरेको छ ।