स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसले गर्यो निर्णय, पूर्व गृहमन्त्रीको कप्तानीमा चुनावमा भिड्ने

  • प्रकाशित मिति : २०७८ चैत्र १५, मंगलवार
  • chhanbin.com

सत्तारुढ नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नेछन् ।