चुनावी तालमेलका बिषयमा कांग्रेसका दुई भाई महामन्त्रीको बाझियो मत, देउवालाई कसको साथ ?

  • प्रकाशित मिति : २०७८ चैत्र १४, सोमबार
  • chhanbin.com

चुनावी तालमेलका विषयमा कांग्रेसका दुई महामन्त्रीहरुको मत बाझिएको छ। एक जना महामन्त्री गगन थापाले चुनावी तालमेलका विपक्षमा धारणा राखेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले तालमेल गरेर जानुपर्ने धारणा राखेका हुन्।

‘आवश्यकताका सिद्धान्तका आधारमा गठबन्धन गर्नुपर्ने देखिएको छ,’ महामन्त्री शर्माले भने। उनले विगतमा नेपाली कांग्रेसले पाप्त गरेको मत र अन्य पार्टीले प्राप्त गरेको मतविवरण पनि बैठकमा पेस गरेका थिए।

‘कम्युनिस्ट एक हुन नदिने र कोही न कोहीलाई साथ लिएर जाने विकल्प हो। सभापतिले एमाले बलियो छ भन्न हुन्थेन,’ डाटा प्रस्तुत गरेर उनले भनेका थिए, ‘तथ्यांकमा कमजोर होइन। तथ्यले गठबन्धन गरेर जान पर्छ भन्ने सन्देश दिएको छ। तर मापदण्ड बनाउनुपर्छ,’ उनले भने।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा दुई महामन्त्रीको मत बाझिएको हो। शर्मा अघि बोलेका महामन्त्री थापाले भनेका थिए, ‘म गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न। देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसियाहथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त? रूख बाहेक अन्य चुनाव चिन्हमा भोट हालेका लाखौँ कार्यकर्तालाई कांग्रेसमा फर्काउन सकिन्छ ?’

उनले अहिले लाखौँ कार्यकर्ता नयाँ भएको तिनलाई रुख बाहेक अन्यत्र भोट हाल्न लगाएर पछि पुनः उनीहरूलाई कांग्रेसमा फर्काउन नसकिने उनको भनाइ थियो। ‘त्यसको ग्यारेन्टी सभापतिजीले लिन सक्नुहुन्छ ? भोलि ती नयाँ कार्यकर्ताले रूखमै भोट हाल्नछन् भन्ने के छ ? सैद्धान्तिकरूमा कांग्रेसले गठबन्धनको जस्टिस गर्न सक्दैन,’ उनले भने।

नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भन्ने देखाएर लोकतन्त्र बलियो भयो भनेर बस्न नहुने उनको भनाइ छ। थापाले बोल्दाबोल्दै समय सकिएको थियो। समय सकिएको जनाउ घण्टी बजेपछि उनले कुरा छोट्याएर टुंग्याएका थिए।