चुनावी तालमेलको ‘माथापच्ची’मा जेलिएको कांग्रेसलाई देउवाले कसरी दिंदैछन् अभयदान ?

  • प्रकाशित मिति : २०७८ चैत्र १४, सोमबार
  • chhanbin.com

सत्तासीन दल नेपाली कांग्रेस चुनावी रणनीति बनाउन व्यस्त छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आइतबारसम्म ५४ जनाले धारणा राखेका छन्। बैठकको मुख्य एजेन्डा राखिएको छ, चुनावी रणनीति र अन्य दलसँगको तालमेल।

शुक्रबार ६ वटा प्रदेशका सभापति र केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। फागुन २९ बाट सुरु भएको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि जिल्ला-जिल्लामा खटिएका केन्द्रीय सदस्यले रिर्पोटिङसहितको धारणा राख्ने क्रम जारी छ।

कांग्रेस बैठक चुनावी तालमेलको ‘माथापच्ची’मा रुमलिएको छ। बैठकमा धारणा राख्ने सबै केन्द्रीय सदस्यहरूले चुनावमा अन्य दलसँग तालमेल गरेर जाने कि एक्लै भन्ने सन्दर्भमा नै धारणा राखेका छन्।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय समिति सदस्यका धारणा भने आपसमा बाझिएका छन्। यस पटकको चुनावमा तालमेल गर्न नहुने पक्षमा पनि धेरै केन्द्रीय सदस्यले धारणा राखेका छन्। यद्यपि दोस्रो दिनको बैठकमा कांग्रेस चुनावी तालमेलका पक्षमा खुल्दै गएको संकेत देखिएको छ।

खासगरी कांग्रेसले दुई वटा मुख्य प्रश्नको जवाफ बैठकबाट खोज्ने प्रयास गरेको देखिन्छ। पहिलो–तालमेल गर्ने वा नगर्ने? दोस्रो- तालमेल गर्ने भए त्यसको मोडल कस्तो हुने? यी दुई प्रश्न सहितको धारणा केन्द्रीय सदस्यहरुले फरक–फरक कोणबाट राखिरहेका छन्। बैठक बोल्ने नेताहरूले तीन कोणबाट दुई प्रश्नको जवाफसहित धारणा राखिरहेका छन्।

पहिलो मत तालमेल नगर्ने पक्षमा छ। कम्युनिस्ट विभाजित भएको अवस्थामा एक्लै नलडे कहिले लड्ने भन्ने विषय केन्द्रीय नेताहरूले उठाएका छन्। यस्तै दोस्रो विषय छ, तालमेल गरेर जानुपर्छ। सत्तामा साझेदारी रहेकाले चुनावमा पनि तालमेल गरेर जानुपर्ने यो विषय पक्षधरको धारणा छ। तेस्रो पक्ष चाहिँ तालमेल गर्न सकिन्छ तर स्थानीय आवश्यकता हेरेर निर्णय गर्ने अधिकार तल्लै तहलाई दिनुपर्छ भन्ने छ। यिनै दुई प्रश्न र तीन कोणमा कांग्रेस बैठक केन्द्रित छ।

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको नेतृत्व देउवाले गरेको एक केन्द्रीय सदस्यले अनुमान गरे। शनिबारको बैठकमा देउवाले यसको छनक सहतमा ल्याएका थिए।

‘कांग्रेस जिताउन चुनावी तालमेल गर्ने हो। हिजो हाम्रो हालत के थियो? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन्। भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने? प्रचण्ड हार्न चुनाव लड्छ? मिल्दिन्छ नि, जहाँ जितिन्छ त्यहीँ? लखेटेपछि कहाँ जान्छन्? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले,’ सभापति देउवाले शनिबारको बैठकमा भनेका थिए।

देउवाको यो अभिव्यक्तिले केन्द्रीय समितिमा सबैका कुरा सुन्ने तर निर्णय चुनावी तालमेल गर्ने पक्षमा गराउने रणनीति देउवाको छ। त्यसो त, नेता रामचन्द्र पौडेलले दुई दिनसम्म केन्द्रीय सदस्यहरूको कुरा सुनेपछि अर्थपूर्ण रूपले तालमेलका पक्षमा पार्टीले निर्णय गर्ने बताइसकेका छन्। आइतबार बैठकस्थलबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँग अनौपचारिक रूपमा कुरा गर्दै पौडेलले तालमेलको पक्षमा निर्णय आउने बताएका हुन्।

‘केन्द्रीय समितिले सैद्धान्तिक निर्णय लिने हो। तालमेल गर्ने सैद्धान्तिक निर्णय केन्द्रीय समितिबाट हुन्छ। कहाँ र कसरी तालमेल गर्ने भन्ने कुरा तल्ला तहले निर्णय गर्ने हो,’ उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो। तर चुनावी तालमेल गरेर तालमेल बचाएर लानुपर्ने आवश्यकता छ।’

कांग्रेस बैठकमा चितवनको भरतपुर महानगरपालिकाको विषय ‘हटकेक’बनेको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा यसपटक तालमेल गर्न नहुने धारणा राखेका थिए। यसअघि २०७४ सालमा भएको चुनावमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई कांग्रेसले सघाएको थियो।

त्यसबेला टिकट पाएर पनि कोइरालाले उम्मेदवारी मनोनयन गर्न पाएका थिएनन्। यसपटक पनि चितवनमा तालमेल गरेर माओवादीलाई नै भोट हाल्न नसकिने उनको भनाइ थियो। चितवनका कांग्रेसले रुखमै भोट हाल्न पाउनुपर्ने माग उनको थियो।

तर, सभापति देउवाले चितवनमा कांग्रेसले एक्लै जित्न नसक्ने दाबी गरे। चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरूङले पनि चितवनमा तालमेलको भारी बोक्न नसक्ने बताएका थिए।

आइतबार उनै गुरुङले सानेपाबाट रेणु दाहाललाई चितवनका जनताले भोट नहाल्ने दाबी गरिदिए। संचारकर्मीहरुसँग कुरा गर्दै गुरूङले भने, ‘भरतपुरमा रेणु दाहालको सम्भावना बढ्यो भन्ने सुनेको छु। रेणु उठे हार्छिन्, हाम्रा साथीहरूले भोट दिँदैनन्। भोलि प्रचण्ड हार्लान्, अनि तालमेलको के अर्थ?’

केन्द्रले तालमेलको निर्णय गरेर लाद्न नहुने गुरुङको धारणा थियो। ‘चितवनका बारेमा मैले पीचएडी गरेको छु, मलाई सबै थाहा छ। तालमेल गरेर निर्णय लाद्न भएन। बाउछोरीलाई नै एकै ठाउँमा दिएपछि कांग्रेस चाहिँ ताली पिटेर बस्ने? यदि तालमेल भयो भने एमाले जिताउने तालमेल हुन्छ।’

कांग्रेस बैठकमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्नुपर्ने मत बलियो छ। त्यही क्रममा बैठकमा धारणा राख्ने केही नेताहरूले अवस्था हेरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि तालमेल गर्नुपर्ने बताइरहेका छन्। शुक्रबारको बैठकमा कांग्रेस कर्णालीका सभापति ललितजंग शाही र केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले माओवादी बलियो भएको ठाउँमा एमालेसँग तालमेल गर्नुपर्ने बताए।

आइतबारको बैठकमा पनि एमालेसँगको तालमेलको कुरा उठेको छ। केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँको प्रसंग निकाल्दै भनेका थिए, ‘तनहुँमा माओवादीले जितेका ठाउँमा एमालेसँग तालमेल गर्नुपर्छ भनेर पनि कुरा उठेको छ।’ तर, भट्टराई बोलिनसक्दै देउवाले प्रतिप्रश्न गरेका थिए, ‘उसो भए कांग्रेसले जितेका तहमा चाहिँ नि ?’

त्यसो त एक महिने अभियानका लागि भक्तपुर खटिएका जितजंग बस्नेतले स्थानीय आवश्यकतालाई ध्यानमा राख्ने हो भने नेपाल मजदुर किसान पार्टीकाविरुद्ध एमाले र राप्रपासँग पनि तालमेल गर्नुपर्ने अवस्था रहेको सुनाएका थिए। ‘भक्तपुरमा नेमकिपा बलियो छ। नेमकिपा हराउने हो भने माओवादी मात्रै होइन, एमाले र राप्रपासँग पनि तालमेल गर्नुपर्ने हुन सक्छ।’

एक महिने अभियानका लागि सिन्धुपाल्चोक खटिएकी गंलालक्ष्मी अवालेले तालमेलका नाममा कम्युनिस्ट पार्टीको पाप कांग्रेस बोक्न नहुने बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘सिन्धुपाल्चोकमा तालमेलका नाममा कम्युनिस्टको पाप धुँदाधुँदा गंगा नै मैलो भइसक्यो। अझै कति पाप धुने हो, गंगा कति मैलो बनाउने हो?’

बैठकमा रुकुमपूर्वको रिर्पोटिङ गर्दै रुपा विकले माओवादीसँग तालमेल गर्ने निर्णय केन्द्रले गरे कांग्रेसले छुट्टै चुनाव लड्ने तयारी गरेको बताएकी थिइन्। ‘केन्द्रले माओवादीसँग तालमेल गर्ने निर्णय गरेको अवस्थामा छुट्टै चुनाव लड्ने तयारीमा रुकुम पूर्वका साथीहरु हुनुहुन्छ। केन्द्रले हेर्ने दृष्टिकोण र ग्राउन्ड रियालिटी फरक छ। त्यही अनुसार निर्णय गरौं,’ उनले भने।

सभापति देउवाको गृहजिल्ला खटिएकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानले भने तालमेलका कुरा छाडेर पार्टी मिलाउनुपर्ने धारणा राखेकी थिइन्। ‘तालमेलको कुरा आफ्नै ठाउँमा छ। तर, कांग्रेसले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउनु ठूलो कुरा हो,’ उनले भनेकी थिइन्, ‘अधिवेशनका बेलामा हाम्रै साथीहरुबीच बढेको दुरी कम भएको छैन। त्यता तर्फ ध्यान दिनपर्ने देखिएको छ।’

नेतृ पुष्पा भुसालले भने अन्तर्राष्ट्रिय शक्तिकेन्द्र कम्युनिस्टलाई एक फेरी एक ठाँउमा ल्याउने प्रयासमा रहेकाले तालमेल गर्नुको विकल्प नरहेको बताएकी थिइन्। ‘हामीले जितेका ठाउँमा तालमेल नगर्ने र हारेका ठाउँमा मात्रै गर्ने कुरा सिद्धान्ततः ठिक होइन। अन्तर्राष्ट्रिय शक्तिकेन्द्र कम्युनिस्ट पार्टी एक गराउन लागेका छन्। यस्तो बेलामा हामी तालमेल गरेरै अघि बढ्नुपर्छ,’ उनले भनेकी थिइन्।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन्। आइतबारको बैठक सकिएपछि बाहिरिने क्रममा उनले सोमबारसम्ममा बैठक सकिने र सम्भवतः निर्णय पनि सोमबारै सार्वजनिक हुने बताए।