अमेरिकाले चीनविरुद्ध रणनीतिक योजना बुनिरहेको भन्दै चिनियाँ विदेशमन्त्रीले पोखे दुखेसो

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

चिनियाँ विदेशमन्त्री वाङ यीले चीनविरुद्ध अमेरिकाले रणनीतिक योजना बुनिरहेको बताएका छन्। आइतबार अध्यक्ष प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका नेताहरूसँगको भेटवार्तामा वाङले अमेरिकीहरू रणनीतिक रूपमा अगाडि बढिरहेको र चीनको वरिपरिका मुलुकमा विभिन्न नाममा प्रवेश गरिरहेको बताएका हुन्।

छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार वाङले चीनविरुद्ध अमेरिकाले रणनीतिक योजना बुनिरहेको बताए। इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस) सैन्य रणनीति मार्फत् अमेरिकाले चीन वरपरका देशमा चीन बिरोधी गतिबिधि गरिरहेको बताएका हुन् ।

‘अमेरिकीहरू रणनीतिक रूपमा चीनको वरिपरि रहेका मुलुकहरूमा विभिन्न नाममा प्रवेश गरिरहेका छन्, त्यसकै लागि आईपीएस सैन्य रणनीतिमार्फत् प्रभाव बढाइरहेका छन्। उनीहरू चीनमै प्रवेश गर्न चाहन्छन्’, वाङको भनाई उधृत गर्दै ती नेताले भने, ‘तर, नेपालजस्तै असल छिमेकीका कारण उनीहरू सकिरहेका छैनन्। चिनियाँ जनताको एकताले पनि अमेरिकाको योजना सफल भएको छैन।’

नेपालले लिएको एक चीन नीतिप्रति आफ्नो देश खुसी रहेको वाङले बताए। नेपालले लिएको एक चीन नीतिप्रतिको अडानप्रति खुसी छौँ, चीनप्रति तपाईँहरूको सदभाव छ, असल छिमेकी भएकोमा हामी खुसी छौँ,’ वाङको भनाइ थियो।

तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले स्वदेश फर्कनुअघि माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेका हुन्।

नक्सालस्थित होटेल मेरियटमा करिब ४० मिनेटसम्म भेटवार्ता चलेको थियो। भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेता शक्ति बस्नेतले जानकारी दिए।

‘हामी चीनको सुरक्षा चासो कमजोर हुन दिँदैनौं, एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छौँ’, वाङलाई प्रचण्डले विश्वस्त पार्दै भनेको कुरा उधृत गर्दै बस्नेतले भने। विदेशमन्त्री वाङसँगको भेटमा माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेता शक्ति बस्नेत लगायत सहभागी थिए।