अरू पार्टीमा झर्को र फर्को, भोजपुरको अरुणमा माओवादी प्रवेश गर्नेको लाग्यो लर्को

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

भोजपुरको अरुण गाउँपालिकामा अरु पार्टी छोडेर नेकपा (माओवादी केन्द्र) प्रवेशको लहर चलेको छ । शनिबार पार्टीको गाउँ कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण पनि सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस छोडेर नेताहरु नगेन्द्र राई, युनिसा राई, अनुराज राई (अरुण गाउँपालिका ६) तथा वडा नम्बर ६ कै रमिता राई एमाले छाडेर नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । वडा नम्बर २ का सुवास श्रेष्ठले पनि एमाले त्यागेर माओवादी भएको जनाएका छन् ।

केही दिनअघिमात्र याङपाङका हर्कमाया शिवा, भरत शिवा र कर्ण आले पनि एमाले छोडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै एमालेले जनतालाई झुक्याएको र छलछामको राजनीतिमात्र गरेको आरोपसमेत लगाएका थिए ।

वडा नम्बर ७ का वडाध्यक्षसमेत रहेका पार्टीका गाउँ कमिटी अध्यक्ष डिल्लीराम अधिकारीले पार्टीप्रति जनताको आस्था बढेको बताए । उनले अझै पनि केही पार्टी र व्यक्तिले माओवादीको विरुद्धमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

‘माओवादीले जनताका पक्षमा काम गरेको छ, यसलाई अब थप बुझाउनु जरुरी छ’ अधिकारीले भने ‘अबको निर्वाचनमा यो गाउँपालिकामा मात्र होइन जिल्लामा नै पार्टीले राम्रो नतिजा ल्याउने छ ।’