चिनियाँ विदेशमन्त्री भेटेपछि एमालेले भन्यो ‘यो दुई कम्युनिस्ट पार्टीबीचको भेटघाट हुँदै होइन’

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटघाट सकिएको छ। भेटघाटका क्रममा अध्यक्ष ओलीले नेपालसँग भएका सम्झौताहरूको कार्यान्वयन र त्यसको निरन्तरताबारेमा कुराकानी भएको एमालेले जनाएको छ।

भेटवार्ताबारे जानकारी दिंदै एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले यो सिष्टाचार भेटमात्रै भएका कारण त्यसमा कुनै राजनीतिक कुराहरू नभएको बताए।

‘यो दुई कम्युनिस्ट पार्टीबीचको भेटघाट होइन’ उनले भने ‘दुई देशको आपसी सम्बन्धका बारेमा कुराकानी भयो। कुनै पनि राजनीतिक कुरा भएको छैन।’

उनका अनुसार विदेशमन्त्री वाङसँग ओलीले उत्तरी नाकाहरू नेपाललाई सहज वातावरण बनाइदिन आग्रह गरेका थिए। त्यस्तै उनले कोरोना संक्रमणपछि फर्किएका नेपाली विद्यार्थीहरूलाई पुन: चीन गएर अध्ययनको व्यवस्था मिलाइदिन पनि अनुरोध गरेका थिए।

जवाफमा विदेशमन्त्री वाङले नेपाल र नेपालीको सहयोगका लागि चीन हरवखत तयार रहेको र अहिले उत्पन्न भएका समस्याहरूको समाधानका लागि पनि सकारात्मक भएको बताएका थिए।

‘दुई छिमेकी देशबीच सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण नेपाल-चीनको सम्बन्ध बन्नुपर्छ भन्नेमा हामी थप प्रतिवद्ध भएका छौं’ भट्टराईले भने। उनले चिनियाँ विदेशमन्त्रीको भ्रमणको सफलता सरकारसँग गरेका सम्झौताहरूको कार्यान्वयन कस्तो हुन्छ भन्नेमा भर पर्ने पनि बताए।