ओलीले कांग्रेस र मधेशवादी दललाई मधेशमै सोत्तर बनाउन लगाए यस्तो जुक्ति, कति छ सम्भव ?

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

केपी ओली नेतृत्वको सरकार। साल २०७२ । संविधान जारी भए लगत्तै मधेशमा चलिरहेको आन्दोलन। नेपालमा भारतको अघोषित नाकाबन्दी। मधेशी आन्दोलनकारीहरूले नेपाल–भारत सीमा नाका अवरुद्ध गरिरहेका थिए। आन्दोलनको मुख्य तारो बनाइएका थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली। आन्दोलनकारीहरूको मुख्य केन्द्र बनेको थियो, नेपालको वीरगन्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल। त्यस ठाउँको आन्दोलनको नेतृत्वकर्ता थिए, तत्कालीन नेपाल सद्भावना पार्टीका नेता शिव पटेल। वीरगन्जका कहलिएका नेता भएकाले पनि उनी त्यहाँको आन्दोलन व्यवस्थापनमा अग्रणी भूमिकामा थिए।

उनै पटेल ९ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरे। उनलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भने, “जय मधेशवाला नारा बोक्ने एक मात्र पार्टी एमाले हो।”

त्यतिबेला आन्दोलनमा लागेर एमाले र ओलीको आलोचना गर्नेमध्ये अहिले एमाले प्रवेश गर्ने पटेल एक्ला होइनन्। त्यसअघि वीरगन्जका मेयर विजय सरागवी पनि एमाले प्रवेश गरेका छन्, उनै ओलीको हातको टिका लगाएर। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट वीरगन्जका मेयर भएका थिए सरागवी। सोही दिन नै ओलीले बाराको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारीलाई पनि एमाले प्रवेश गराएका थिए।

त्यसो त १९ पुसमा पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य यदुवंश झा नै एमाले प्रवेश गरेका थिए। अन्य पार्टीबाट आफ्नोमा प्रवेश गराउने यो लहर मधेश प्रदेशमा मात्र सीमित नभई देशैभरका तराईका अन्य जिल्लामा पनि जारी छ।

खासगरी मधेश प्रदेशका जिल्लाहरूमा एमालेले विगतको तुलनामा सक्रियता बढाएको पाइन्छ। तर परिदृश्यको अर्को पाटो के हो भने, विगतमा एमालेको विपक्षमा रहेका वा मधेश आन्दोलनमा लागेकाहरू नै अहिले एमाले प्रवेश गरिरहेका छन्। यस्तो किन भइरहेछ त ?

मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक विजयकान्त कर्ण यसलाई दुई ओटा कोणबाट हेर्न सुझाउँछन्।

“पहिलो, मधेश केन्द्रित दलका नेताहरूबाट ती पार्टीका स्थानीय नेताहरू विश्वस्त हुन नसकेका हुन्”, कर्ण भन्छन्, “दोस्रो, एमाले र त्यसका अध्यक्ष ओलीको अन्ततः मधेशबिना पार्टी चल्न सक्दैन भन्ने स्वीकारोक्ति पनि हो यो। नेपालमा मधेश नै छैन भन्ने नेताले आज ‘जय मधेशको नारा आफ्नो पार्टीको नारा हो’ भन्नुको अर्थ उनले मधेश आन्दोलनलाई स्वीकार गर्नु पनि हो।”

मधेशका स्थानीय नेताहरू पार्टी प्रवेश गर्नुलाई भने उनले चुनावी सम्भावना र उम्मेदवारको टिकट पाउने अभिलाषाले काम गरेको बताए।
कर्णकै जस्तो धारणा छ एमाले प्रवेश गरेका वीरगन्जका नेता शिव पटेलको पनि। मधेश आन्दोलनको भावना अनुसार मधेशी नेताहरूले एउटै पार्टी बनाउन नसकेको र स्थानीय नेता–कार्यकर्तालाई बेवास्ता गरेकाले आफू एमाले प्रवेश गरेको उनले बताए।

“स्थानीय तह निर्वाचनमा भाग लिने नेता–कार्यकर्ताबारे मधेशकेन्द्रित दलहरूका शीर्ष नेता गम्भीर छैनन्, उनीहरू आफू सहभागी हुने संघीय निर्वाचनका लागि मात्रै काम गर्छन्”, पटेलको आरोप छ।

अघिल्लोपटक तत्कालीन राजपाबाट पर्साको बहुदरमाई नगरपालिकाको अध्यक्षका उम्मेदवार रहेका पटेल यसपटक एमालेबाट उठ्दै छन्।
एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य पद त्यागेर एमाले फर्किएका नेता यदुवंश झा भने ठूला पार्टीलाई बदनाम गरेर आफ्नो स्पेस बनाउने राजनीति मधेशकेन्द्रित नेताहरूले गरिरहेको भए पनि त्यो असफल भएको विश्लेषण गर्छन्।

“मधेश आन्दोलनमा केपी ओलीलाई निशाना बनाइनु नै मधेशी पार्टीहरूको गलत काम थियो”, झा भन्छन्, “ठूला पार्टीलाई मधेश विरोधी भनेर आफूहरू तिनै नेता र पार्टीको शरणमा गएपछि मधेशमा भ्रमको पर्दा हटेछ।”

स्थानीय नेताहरू जहाँ बढी अवसर देख्यो, त्यहाँ जानु सामान्य भएको उनको टिप्पणी छ। मधेशमा उत्साही बनिरहे पनि एमालेको विगत भने सुखद छैन। २०७४ सालमा सम्पन्न स्थानिय तह निर्वाचनमा मधेश प्रदेशमा एमाले पाचौँ दल बनेको थियो।

मधेशका आठ जिल्लाका कूल एक सय ३६ स्थानिय तहमध्ये एमालेले जम्मा १८ स्थानिय तहमा प्रमुख पद जितेको थियो। त्यो भनेको जम्मा १३ दशमलव २३ प्रतिशत हो। रौतहटमा त उसले एउटा पनि स्थानिय तहमा प्रमुख पद जित्न सकेको थिएन।

सांगठनिक रूपमा पनि एमाले मधेशमा अन्य प्रदेशको तुलनामा निकै कमजोर छ भन्ने उसकै सांगठनिक संरचनाले देखाउँछ। गत मंसीरमा १० औं महाधिवेशन सम्पन्न भएपछि बनेका एमालेका विभिन्न कमिटिमा मधेशी समुदायको प्रतिनिधित्व निकै कम छ। १८ सदस्यीय सचिवालयमा एकजना मात्र मधेशीको उपस्थिति छ भने केन्द्रीय कार्यालय सञ्चालनका लागि महासचिवको नेतृत्वमा गठित १० सदस्यीय समितिमा पनि एकजना मात्रै।

४२ सदस्यीय स्थायी कमिटिमा तीन जना, ९९ सदस्यीय पोलिटब्युरोमा सात जना, तीन सय एक सदस्यीय केन्द्रीय समितिमा २५ जना मात्रै मधेशीको उपस्थिति छ।

मधेश आन्दोलनअघि एमालेमा त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने प्रभावशाली नेताको कमी थिएन। तर पछिल्ला दुई दशकमा रामचन्द्र झा, सलिममिया अन्सारी, महेन्द्र राय यादव, श्रीकृष्ण यादव जितेन्द्र देव, सितानन्दन राय, रामलहन महतोजस्ता मधेशका प्रभावशाली एमाले नेताहरूले पार्टी त्योगका थिए। परिणाम, मधेशमा एमालेको प्रभाव घट्दै गयो।

प्रभाव घट्दै गएपछि अघिल्लोपटकका तीनै तहका निर्वाचनमा एमालेले मधेशमा प्रचार बढाउने प्रयास गरेको थियो। त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्वदेखि पश्चिम तराईसम्म मधेशकेन्द्रित पार्टी अभियान चलाउन थालेका थिए। तर सप्तरीको मलेठमा मधेशकेन्द्रित पार्टीसँग भिडन्त भएर पाँच जनाको ज्यान नै गएपछि एमालेले उक्त अभियान रोकेको थियो।

मधेशमा केही चिनिएका नेतालाई पार्टी प्रवेश गराए पनि आउँदो स्थानिय तह निर्वाचनमा विगतको भन्दा उल्लेखनीय हिसाबले राम्रो परिणाम ल्याउनेमा स्वंय एमाले ढुक्क छैन। भर्खरै सम्पन्न एमाले केन्द्रीय समिति बैठकमा प्रदेश प्रमुखहरूले गरेको रिपोर्टिङमा ‘अन्य प्रदेशमा पहिलो पार्टी बन्ने अवस्था रहे पनि मधेशमा भने नरहेको’ बताइएको छ।

सांगठनिक रूपमा कमजोर भएकाले केही व्यक्तिलाई पार्टी प्रवेश गराउँदैमा आशा अनुरूपको परिणाम एमालेले पाएको छैन। मधेश आन्दोलनपछि प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेपछि एमालेले अर्को पुस्ताका नेता तयार पार्न सकेको छैन।

“एमालेले अहिले मधेश केन्द्रित नेताहरूलाई पार्टीमा भित्र्याउँदैमा आउँदो निर्वाचनमा राम्रो परिणाम ल्याउनेमा म ढुक्क छैन”, राजनीतिक विश्लेषक कर्ण भन्छन्।

स्थानीय तहमा कम्तिमा मधेश प्रदेशमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दल र सिके राउत नेतृत्वको जनमत पार्टीसँगग तालमेल गर्न तल्लीन छ। तर लोसपाका नेताहरूले अनौपचारिक कुराकानीमा आफूहरू कांग्रेससँग तालमेल गर्ने नभए एक्लै चुनावमा जाने बताउँछन्।