नेपाल र चीनबीच यस्ता ९ बुँदे समझदारी पत्रमा भयो हस्ताक्षर

  • प्रकाशित मिति : २०७८ चैत्र १२, शनिबार
  • chhanbin.com

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो।

यस दुवै देशका प्रतिनिधिमण्डलले समझदारीपत्रमा समावेश गर्ने विषयबारे छलफल गरेका थिए। केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति भएको बताइएको छ।

प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी थिए। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल थिए।

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्। यसअघि विदेशमन्त्री वाङ यी शनिबार बिहान शिवपुरीमा हाइकिङका लागि गएका थिए।