राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले मुद्या हालेका छन् । राणाले आफूहरुको पार्टी थापालाई बुझाउनुको कुनै वैधानिकता नभएको भन्दै आएका छन् । पार्टीको वैधानिकताको विषय उच्च अदालत पुगेको हो ।
फाल्गुण २९ गते पेशी तोकिएकोमा सरेको थियो । यसको आइतबार (चैत्र १३ गते) फेरि पेशी तोकिएको छ । निर्वाचन आयोगले जवाफ नपठाएकाले पेशी सरेको राणाले जनाए । राणाले निर्वाचन आयोग पनि कुनै स्वार्थमा रुमलिएको आरोप लगाएका छन् । थापाले आफूमाथि उठेका प्रश्नको जवाफ उच्च अदालतलाई दिइसकेका छन् । उनले अरुलाई उच्च अदालतमा लिखित जवाफ पठाएका हुन् ।
निवर्तमान अध्यक्ष लाक्पा तामाङसहित पदाधिकारी भनिएका अन्यलाई पनि थापाले उच्च अदालतमा पठाएको जवाफमा पार्टी कार्यालयमा कार्यरत भनेका छन् । लाक्पाले फाल्गुण १ गते थापालाई पार्टी बुझाएका थिए । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि विचलित बनेका थापाले माघ २५ गते गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
थापा अध्यक्ष भएको वैध नभएको भन्दै राणाले उच्च अदालत पाटन पुगेर मुद्या दायर गरेका हुन् । राणाले राप्रपा नेपाल आफूहरुको भएको पनि दाबी गरेका छन् । पार्टीमा कुनै निर्णय नै नभई तत्कालीन अध्यक्ष लाक्पा तामाङले थापालाई पार्टी बुझाएको उनको आरोप छ । ‘यो पार्टी हामीले बनाएका हौं, लाक्पालाई मात्र एकलौटी निर्णय गर्ने अधिकार थिएन’ राणाले भने ‘खोई, के लोभले थापालाई पार्टी बुझाए भन्नेमा अझैसम्म अन्यौल छ, त्यहाँभित्र पनि धेरै चलखेल भयो भन्ने सुनिएको छ ।’
राणाले राप्रपा नेपालका सबैजसो पदाधिकारी आफूसँग नै भएको दाबी गरेका छन् । पार्टी पद्धतिविपरीत जाने लाक्पा र अर्काको पार्टी कब्जा गर्न आउने कमल थापाविरुद्ध राणा खनिएका छन् । राणाले थापालाई हिम्मत भए अर्कै पार्टी खोलेर देखाउनसमेत चुनौती दिएका छन् । पार्टीमा विवाद भएपछि नै राणाले वालाजुमा केन्द्रीय कार्यालय स्थापना गरेका छन् ।
२०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा राणा अध्यक्षमा थापाको प्रतिस्पर्धामा थिए । त्यतिबेला पनि आफूले झण्डै एक हजार मत ल्याएको तर थापाकै सेटिङमा थोरै मत देखाइएको पनि राणाको आरोप छ । राणाले थापालाई आफ्नो पार्टीमा प्रवेश गर्ने ठाउँ नभएको भन्दै आएका छन् । उच्च अदालतबाट पार्टी आफूहरुले नै पाउने समेत राणाको विश्वास छ । राणाले शक्तिको आडमा थापाले राप्रपा नेपाल आफ्नो पक्षमा पार्न खोजे पनि त्यो सम्भव नहुने बताएका छन् ।