नेपाल भ्रमणमा रहेका चिनियाँ राज्यपरिषद् सदस्य एवम विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी (परराष्ट्रमन्त्री) नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
दुवै नेताबीच शनिबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो। वाङलाई मन्त्री खड्काले सिंहदरबारमा स्वागत गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता समेत हुनेछ। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व वाङले गर्नेछन्। वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।