अख्तियारले पाता कस्ने तयारी गरेको कम्पनीलाई भौतिकले दियो तीनकुने आर्कब्रिजको ठेक्का

  • प्रकाशित मिति : २०७८ चैत्र ९, बुधबार
  • chhanbin.com

काठमाडौंको तीनकुनेस्थित आर्क ब्रिज निर्माणको ठेक्का वाइपी किँरातेश्वर जेभीले पाएको छ । उक्त आर्क ब्रिज निर्माणका लागि प्राविधिक मूल्यांकनबाट छनोट भएका ६ वटा कम्पनीमध्ये आर्थिक मूल्यांकनबाट वाइपी जेभीले ठेक्का पाएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निकालेको बोलपत्रमा तोकिएको बजेटको सबैभन्दा कम बजेट राख्न सफल उक्त जेभी कम्पनीले ठेक्का पाएको छ । आयोजनाले मंगलबार आर्थिक प्रस्ताव खोलेको थियो ।

वाइपीले निर्माण अनुमानित बजेटभन्दा ३५ प्रतिशत कम बजेटमा निर्माण पूरा गर्ने भनेपछि ठेक्का पाएको हो । आर्क ब्रिज निर्माणको अनुमानित लागत ३६ करोड रुपैयाँ रहेको छ भने वाइपीले २४ करोड कबोल्दै ठेक्का हात पारेको

ठेक्का मूल्यांकनका चरणमा रहेको बेला वाइपी किँरातेश्वर जेभीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजस्व छलीको मुद्दा परेको खुलेपछि मूल्यांकन प्रकृया नै ढिलो हुन गएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सो कम्पनीलाई समेत समाबेस गरी ठेक्का प्रकृया अघि बढाउन निर्देशन दिएपछि ठेक्का मूल्यांकनको काम पुनः अघि बढाइएको थियो ।

आर्थिक मूल्यांकनका लागि लुम्बिनी कोटेक जाय जेभी, सपना निर्माण सेवा, लामा जेजीएसएचसी जेभी, वाइपी किँरातेश्वर जेभी, हिमसगरमाथा र हिमढुङ्गा ठोक्कर गोल्डेन गुण्ड जेभी छानोट भएका थिए ।

१ महिनाभित्र काम सुरू, अर्को वर्षदेखि निर्माण थाल्ने

ठेक्का पाएको वाइपी आफैंले पुलको डिजाइन गरी निर्माण गर्नुपर्नेछ । आयोजनाका सूचना अधिकारी महानन्द जोशीले अबको १ महिनाभित्र आयोजनाले डिजाइनको काम सुरू गर्ने बताए ।

उनले चालु आवमा निर्माणको काम सुरू नभए पनि डिजाइन भने गर्ने बताए । उनका अनुसार आर्क ब्रिजको निर्माण कार्य आगामी आवबाट मात्र सुरू हुनेछ ।

‘यो वर्ष निर्माणको काम हुने सम्भावना अलि कम छ, डिजाइन मात्र हुन्छ होला, निर्माणको काम अर्को आवबाट सुरू हुन्छ,’ जोशीले भने ‘१ महिनाभित्र ठेक्का हस्तान्त्रण गरेर निर्माण कम्पनीले डिजाइन सुरू गर्नेछ ।’ कम्पनीले साढे २ वर्षभित्र निर्माण पूरा गर्नुपर्नेछ ।

निर्माण व्यवसायीको लापरबाहीले ७ वर्षदेखि अलपत्र

निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ७ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको हो ।

पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरू गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।