ग्रीन भेन्चर्सको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी पर्यो आवेदन

  • प्रकाशित मिति : २०७८ चैत्र ८, मंगलवार
  • chhanbin.com

ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ३२ हजार ४२१ जनाले ५४ लाख ५८ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएभन्दा झन्डै दुई गुणा बढी आवेदन हो ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको छ । निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ । कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।