माधव नेपालले अझै आफ्ना मन्त्रीको काम हेर्ने, कुनै मन्त्री पनि नफेर्ने

  • प्रकाशित मिति : २०७८ चैत्र ७, सोमबार
  • chhanbin.com

एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरु हेरफेर नगर्ने भएको छ। नियुक्त भएको ६ महिना पुगेसँगै समाजवादीबाट सरकारका सहभागी भएका पाँच मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर अरुलाई पठाउने चर्चा भएमा पनि पार्टी हेरफेर गर्ने पक्षमा नरहेको अध्यक्ष माधवकुमार नेपालले बताएका हुन्।

सोमबार साँखुमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्ने भन्ने गलत हल्ला चलाइएको दाबी गरेका हुन्। अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई भने, ‘बाहिरी हल्लाको पछि नलाग्नुहोस्। मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनु होला। मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि हाम्रा मन्त्रीलाई कर्मचारीले टेर्नै छाडेछन्।’

गत असोज २२ गते समाजवादीको सिफारिसमा विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री नियुक्त भएका थिए भने भवानी खापुङलाई राज्यमन्त्री बनाइएको थियो। ६ महिनापछि आलोपालो गर्ने गरी त्यसबेला नियुक्त गरिएको चर्चा थियो।

अध्यक्ष नेपालले आले र श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भएको भन्ने कुरामा पनि सत्यता नभएको दाबी गरे।