‘कान्छीको हात तानेर भीडबाट अघि बढाउने प्रयास गरें। कान्छी (उर्मिला) थाकिसकेकी थिइन्। भीडले मबाट कान्छीलाई तानेर लग्यो। मलाई नि लछारपछार पारियो,’ मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले बताइन्।
आइतबार दिउँसो लेटाङ नगरपालिकको खेरुवामा रहेको शिक्षा बिकास माविमा तनाव सुरु भइसकेको थियो। घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे ६ महिला प्रहरीसहित ३० जनाको टोली घटना नियन्त्रणका लागि लेटाङ पुगेको थियो। बेलुका करिब साढे ७ बजे घटनास्थल पुगेको टोली विद्यालय परिसर भित्र पस्न नपाउँदै आक्रोशित भीडले आक्रमण गरेको थियो।
श्रेष्ठकी सहकर्मी भन्छिन्, ‘हामीलाई विद्यालय बाहिर बस्न आदेश थियो। गाडीबाट ओर्लेर गेटमा पुग्दै गर्दा आक्रोशित भीडले खेद्न थाल्यो। कान्छी (उर्मिला) र म पनि मिसियौं। मसँग हतियार पनि थियो। भीडले हामीलाई लखेट्न थाल्यो।’
भीडबाट जोगिन उनीहरुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो हट्टाकट्टा थिइनन्। कहिलेकाही महिनावारी हुदाँसमेत उनलाई अत्यन्त गाह्रो हुने गरेको सँगै काम गरेको साथीहरु बताँउछन्।
यसबीच अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लुकेर बसेकी थिइन्। उनी पनि भीडबाट भाग्दै शौचालयसम्म पुगेकी थिइन्।
उर्मिला र उनका केही सहकर्मीमाथि आक्रोशित भीड राति करिब साढे आठ बजे खनिन पुग्यो। थकित उर्मिलाको हात पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घिसारिन्। उनले भनिन्, ‘हामी निक्कै थाकेका थियौं। उर्मिलाले हात नछोड्नु है दिदी भनिरही। मैले जबरजस्ती घिसार्ने प्रयास गरिरहे। एकाएक आठ दस जनाको हुलले हामीलाई ढुंगा, बोतल, लाठीले प्रहार गर्यो। दुवैजना नालामा खस्यौं। हामी जीवनरक्षाका लागि हार गुहार गरिरह्यौं।’
आक्रोशित भीडले उर्मिलामाथि निर्मम् प्रहार गरिसकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भीडले उर्मिलालाई शहिद बनाइसकेको भन्दै थियो। मलाई चाहिँ नजिकैको जंगलमा लगेर सहिद गर्ने भन्दै घिसार्दै थियो। सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आज म पनि जंगलमा मृत अवस्थामा भेटिन सक्थें।’
त्यसपछि ती महिला प्रहरीले नाला नजिक घरमा जीवनका आशा देखिन्। एक अधवैंशे महिलासमक्ष हार गुहार गरिन्। आफू रानी विराटनगरबाट आएको बताइन्। ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर हतियार लुकाएर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्यान जोगाउन सफल भएकी थिइन्।
अर्कोतर्फ, सधैझैं राती उर्मिला ड्युटी सकेर आउँदा अबेर हुन्छ भन्दै घरबेटीले आइतबार राती पनि मुलगेट सधैं झैं खुल्लै राखेका थिए।
मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झसंग भयौं। सधै ड्युटी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भनेर ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’
लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उदयपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवाह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएनन्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इलाममा कार्यरत रहेका थिए। गएको तीन साता अघि मात्रै नवीन विराटनगर आएका थिए। लामा सम्झन्छन्, ‘तीन साता अघि उनको श्रीमान् आएका थिए। दुवै जना कम र नम्र बोल्ने स्वभावका थिए। केहीदिन बसेपछि दुवैजना इलाम जाने तरखरमा थिए।’
आइतबार पनि विहानबाट कार्यालयको गेटमा ड्युटीमा बसेकी उर्मिला आफ्नो ड्युटी सकेर त्यसतर्फ गएकी थिइन्। उर्मिलापनि पछिल्लोसमय श्रीमानसँग इलाममा ड्युटी मिलाउने क्रममा रहेकी थिइन्। प्रहरीका उच्च अधिकारीलाई उनले कुरा पनि राखिसकेकी थिइन्। तर निर्वाचनले गर्दा मिल्न सकेको थिएन। उर्मिलाकी दाजु भुवन श्रेष्ठ असई र भाउजु मिना श्रेष्ठ प्रहरीमै रहेका छन्।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीले मृतक श्रेष्ठको पोष्टमार्टम गरि कोशी अस्पतालबाट अन्त्येष्टीको तयारी गरिएको जानकारी दिए। प्रमुख बिसीले घटनामा २९ जना प्रहरी घाइते भएको बताए।