झलनाथको घरै अगाडी पुगेर ओलीले भने- एमालेको एउटै कुचोले बढार्छ, अनि मिल्क्याउछ

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • chhanbin.com

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको भन्दै गुनासो गरेका छन्। एमालेको वैचारिक क्षमता, सुशासनका लागि गरेको काम तथा भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर पार्टीकै नेताहरुले अरु दलसँग मिलेर सरकार ढालेको उनले बताए।

पार्टी कार्यक्रमका लागि आइतबार इलाम पुगेका अध्यक्ष ओलीले पूर्व एमाले नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै एमालेको बलमा सांसद भएकाहरु नै एमालेविरुद्ध उत्रिएको बताए।

एमाले कसैलाई पनि झुक्याउने पार्टी नभएको उनको भनाइ थियो। दुई–चार वटा पात झरे पनि एमाले सतिसालका रूपमा रहने भन्दै उनले आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दललाई एउटै कुचोले बढार्ने दाबी गरे।

अध्यक्ष ओलीले दुई तिहाइको हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे–अन्तरे’ले ढालेको टिप्पणी गरे। आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै उनले आक्रोश पनि पोखे। आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले पार्टीबाट अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने उनको तर्क छ।

ओलीले भने, ‘एमाले कार्यकर्ताले जुत्ताचप्पल खियाएर, पसिना बगाएर अन्तरे–जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नु पर्दैन? भत्ता खाइराख्ने? एमालेले लगाइदिएको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नु पर्दैन? कति साह्रो लाज नभएको? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि। एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ। यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ।’

ओलीले थपे, ‘हामी चुनाव पर्खिरहेका छौं। वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ। जबसम्म पाँच दलीय गठवन्धनको भाँडो रित्तिँदैन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो,’ ओलीले भने।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन्।

ओलीले भने, ‘मनोनयन दर्ताका लागि दुई दिन किन चाहियो? गठबन्धनमा खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो? पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?’

ओलीले थपे, ‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ता गर्न एक दिनको समय दिन्थ्यो, यसपल्ट दुई दिन दियो।’ विश्वभर एकै दिन उम्मेदवारी मनोनयन हुने दाबी गरेका ओलीले निर्वाचन आयोगलाई एउटा पार्टीको पक्षमा काम नगर्न चेतावनी पनि दिए। ‘म निर्वाचन आयोगलाई भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निष्पक्ष भएर काम गर्नुपर्छ।’