कांग्रेस संग तमसुक गरेरै भए पनि प्रचण्ड-माधव पछार्ने यस्तो छ ओलीको दाउ, देउवाले देलान् भाउ ?

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • chhanbin.com

स्थानीय तह निर्वाचनका लागि अब दुईमहिना पनि बाँकी छैन । यसबीचमा सत्ता गठबन्धनका दलहरुबीच गठबन्धनमै चुनावमा जाने विषयमा पटक पटक छलफल भएको छ । तर, अहिलेसम्म गठबन्धनमै चुनावमा जाने भनेर ठोस निर्णय हुन सकेको छैन । अनौपचारिक रुपमा गठबन्धन गर्ने विषयमा छलफल भए पनि गठबन्धनको आधार के हुने, कसले कति प्रतिशत लिएर गठबन्धन गर्ने जस्ता प्रश्नमा छलफल हुन सकेको छैन ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा प्रत्येक स्थानीय तहमा एकभन्दा बढी आकांक्षी देखिएका छन् ।

वडा तहमा पनि उमेदवार बन्ने आकांक्षीहरुको प्रतिस्पर्धा त्यस्तै छ । यदि एउटा मात्रै पालिकामा पनि आफ्नो बलियो पकड हुँदाहुँदै अर्को पार्टीको भागमा परेमा त्यसले ठूलो विद्रोह जन्माउन सक्ने अवस्था रहेको भन्दै आफूहरु गठबन्धनको विरोधमा रहेको कांग्रेसका एक नेताको टिप्पणी छ ।

अघिल्लो पटक चितवनको भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले टिकट पाएपछि कांग्रेसले ठूलै विद्रोहको संकेत गरेको थियो । भरतपुरमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै गएर व्यवस्थापन गरेर फर्किएका थिए । तर, त्यसले कांग्रेसलाई देशैभर असन्तुष्टि बढाउँदा कार्यकर्ताहरु उत्साहि नभएको र त्यसले कांग्रेसका पक्षमा उत्साह भर्न नसकेको निष्कर्षमा कांग्रेसको कोइराला पक्ष छ ।

त्यसैले शेखर कोइराला नेतृत्वको टिम देशभर कांग्रेसकै चुनाव चिह्न रुखमा भोट हाल्ने भन्दै प्रचारमा छ । यही मुद्दामा कांग्रेसका धेरैजसो नेता कार्यकर्ताहरु बढी आकर्षित देखिएका छन् ।

तर, सभापति शेरबहादुर देउवा भने कार्यकर्तातामा त्रास पैदा गरेर गठबन्धनको माहोल निर्माणमा जुटिरहेका छन् । गत फागुन २६ गते नेपाली कांग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र दिन वीरगन्ज पुगेका देउवाले चुनावी गठबन्धनको नाममा सत्ता गठबन्धनमा आवद्ध दलहरूको मनमा चिसो पार्ने काम बन्द गर्न कार्यकर्ताहरूलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका थिए ।

देउवाले भनेका थिए, “तपाईंहरुलाई थाहा छ, हामी एक्लै चुनाव लड्दा अवस्था कस्तो थियो । हामी हारेका थियौं । अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ ।”

उनले कार्यकर्ता तहको बोलिले समेत गठबन्धनको वातावरण विग्रन सक्ने भन्दै आफूलाई प्रधानमन्त्री बनाइदिनेहरुलाई साथमै लिएर जाँदा फाइदा हुने बताएका थिए ।

“साथीहरुले बोली व्यवहारबाट गठबन्धनका साथीहरुलाई कुनै पनि किसिमको चिसो पर्नेदेखि लिएर बेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,” देउवाले भनेका थिए, “वास्तवमा म प्रधानमन्त्री हुन चाहेकै थिइन । गठबन्धनका साथीहरूले सहयोग गरेर म प्रधामन्त्री भएको हुँ ।”

देउवाले अहिलेको अवस्थाबारे बताएर कार्यकर्तालाई विगत चुनावबारे भने गलत टिप्पणी गरेको कांग्रेसकै नेताहरु बताउँछन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले माओवादी केन्द्रसहितका दलसँग गठबन्धन गरेको थियो । त्यसबेला कांग्रेसकै सहयोगमा रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर बनेकी थिइन् भने कांग्रेसको सहयोगमा राप्रपा महामन्त्री धवलशमशेर जबरा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर बनेका थिए ।

तर, गठबन्धनको पर्याप्त सहयोग नपाउँदा कांग्रेसले पोखरा महानरपालिका, काठमाडौं महानगरपालिकासहितका स्थानीय तहमा पराजय बेहोर्नुपरेको थियो ।

यस्तो परिणाम आउनुमा कांग्रेसका नेता कार्यकर्ता आफ्ना विपक्षीलाई भोट हाल्नुपर्दा निरुत्साही भएका कारण आएको विश्लेषण कोइराला पक्षको छ । यस बाहेक पनि कोइराला पक्षले राजनीतिक नैतिकताले पनि ‘हामी गठजोड गरेर आएका छौँ’ भन्दैमा जनताले भोट नहाल्ने निस्कर्षमा पुगेको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङ त आफूहरुले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले निर्वाचनपछि संसदमा गठबन्धन गर्नुलाई स्वाभाविक माने पनि चुनावमा जाँदा नै गठबन्धनमा जाने कुरालाई उपयुक्त नमानिने बताउँछन् ।

“बहुलवादमा आधारित बहुदलीय व्यवस्थाको मर्म भनेकै दलहरुले आ–आफ्नो नीति, कार्यक्रम र घोषणापत्रका आधारमा मत लिने हो । हामी चारभाइ जम्मा भएर आएका छौं भनेर जनताले मत दिने होइन,” गुरुङले भने, “नेपाली राजनीतिमा मात्र होइन दक्षिण एसियाकै राजनीतिमा हामी यति भाइ छौं, हामी बहुमत प्राप्त गर्छौँ भनेर भोट माग्ने संस्कृति देखिँदैछ । जुन बहुलवादमा आधारित संसदीय राजनीतिक मान्यता विपरीत हो ।”

उनले त्यसो गर्दा जनताले भोट नदिने भन्दै भोट दिन्छन् नै भने पनि राजनीतिले अनैतिक बाटो लिने चिन्ता व्यक्त गरे । “चुनावी परिणामपछि त्रिशंकु संसद भयो भने त्यसबेला गठबन्धन बनाउनु फरक कुरा हो,” गुरुङले भने, “तर, चुनावमा जाँदा नै हामी गठबन्धनमा छौं भन्दै भोट माग्नु बहुलवादमा आधारित संसदीय व्यवस्था विपरीत हुन्छ । यसमा दलीय नाफा घाटाको हिसाब किताब अनैतिक हुन्छ ।”

उनले विगतमा गठबन्धन गरेर पनि केही पालिका हारेको भन्दै गठबन्धन नगरेर पनि धेरै पालिका कांग्रेसले जितेको पनि बताए । कोइराला पक्षले विगतको चुनावलाई नै आधार मान्दा पार्टीभित्र उमेदवार छनौटमा न्यायपूर्ण सिद्धान्त अपनाए पार्टीभित्र बलियो एकता कायम हुने र त्यसले कांग्रेसलाई बलियो पार्टीकै रुपमा उभ्याउने बताएको छ ।

त्यसो गर्दा हरेक पालिका र वडामा कांग्रेसका भोटहरु बढ्दै जाँदा संघीय चुनावमा अझ बलियो उपस्थिति हुने पनि बताएको छ । यस्तो दाबीलाई कांग्रेसका जिल्ला र स्थानीय तहका नेताकार्यकर्ताहरुले भने बढी महत्व दिएको देखिएको छ । त्यसैले स्थानीय तहमा कांग्रेसका नेता कार्यकर्ताले गठबन्धनको विपक्षमा मत राख्दा नेकपा माओवादी केन्द्र, नेकपा एससहितका दलहरुसँग जुहारी चल्ने गरेको छ ।

कार्यकर्तामा देखिएको त्यस्तो अवस्थाले माओवादी केन्द्र र नेकपा एसलाई भने झस्काएको छ । त्यसैले माओवादी केन्द्रका अध्यक्ष दाहालले अर्काको भरमा चुनाव नलड्ने भन्दै आफ्नै खुट्टामा उभिएर चुनावको तयारी थाल्न आइतबार पोखराका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले स्थानीय तहमा गठबन्धन नहोलाकि भनेर ‘लघुताभाष’मा रहेका कार्यकर्तामा मनोबल भर्न माओवादी पहिलो पार्टी बन्ने बाटोमा देखिएको भन्दै ढाडस दिने प्रयास गरेका छन् ।

“देशभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढिसक्यौँ,” दाहालले आइतबार पोखरामा भने, “अबको चुनाव कसैको वैशाखी टेकेर होइन, आफ्नै बलमा हामी चुनाव लड्ने तयारी गर्दैछौँ । एकचोटी फेरि माओवादी आउनैपर्छ ।”

कांग्रेस कार्यकर्तालाई जवाफ र आफ्ना कार्यकर्ताको मनोबल उठाउन बोल्ने क्रममा उनले अब माओवादी अरुसँग नगएर अरु दल माओवादीसँग गठबन्धनमा आउने भनेर गठबन्धनका पक्षमा मत राखेका छन् ।

“अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ । हामी जाने होइन,” दाहालले भने, “किनभने, यो देशको परिवर्तनको वाहक हामी हो ।”

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आउने स्थानीय चुनावमा गठबन्धन हुने वा नहुने विषयमाआगामी केन्द्रीय समिति बैठकले धारणा बनाउने बताएका छन् । “सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हो । एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं,” महतले आइतबार सल्यान पुगेर भनेका छन्, “सहकार्य गर्दा बढी सिट जितिने भयो भने गठबन्धनको सम्भावना होला ।”

कांग्रेसको केन्द्रीय समितिमा सभापति देउवाको स्पष्ट बहुमत छ । केन्द्रीय समितिमा बहुमतबाट निर्णय गर्न सभापति देउवा पक्षलाई कुनै अप्ठेरो छैन । तर, त्यसरी निर्णय गरेर जाँदा स्थानीय तहमा मेलमिलाप कायम भएन भने कांग्रेसले क्षति बेहोर्नुपर्ने अवस्था आउने कोइराला पक्षको बुझाइ छ ।

गठबन्धनमा चुनाव लडेर अधिक सफलता पाएको नेकपा एमाले अहिले विगतको गठबन्धनबाट पार्टी एकता हुँदै अहिले एमालेसमेत फूटेको अवस्थामा छ ।

यस्तो बेला नेकपा एमालेले विगतमा माओवादीलाई बोक्दा राजनीति नै धमिलिएको भन्दै विनागठबन्धन स्वस्थ प्रतिस्पर्धाका लागि कांग्रेससँग प्रस्ताव गरेको छ । उसले लिखित सम्झौताका लागि पनि तयार भएको भन्दै माओवादीसहितका दललाई गठबन्धनमार्फत जोगाएर राजनीति अस्थिर बनेको उसको निष्कर्ष छ ।

“हामीले त कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एससहितका पार्टीलाई नबोकौँ, स्वस्थ प्रतिस्पर्धामार्फत उनीहरुलाई बिदा गरौं भनेर प्रस्ताव नै गरेका छौं । कांग्रेसका चुनाव जितेका र आफ्नै ल्याकतमा चुनाव जितिन्छ भन्ने साथीहरु त्यसमा सकारात्मक देखिनुभएको छ र बोलि पनि रहनुभएको छ,” एमालेका एक पदाधिकारीले भने, “यदी कांग्रेसले यसलाई स्वीकार गर्छ र विश्वासको वातावरण चाहन्छ भने हामी लिखित सम्झौताका लागि तयार छौं ।”

उनले त्यस्तो हुन सके नेपाली राजनीतिमा देखिएको अस्थिरता अन्त्य हुने र दुईदलीय राजनीतिक प्रतिस्पर्धा सुरु हुने पनि दाबी गरेका छन् । विश्लेषकहरु एमालेले भनेको दुईदलीय प्रतिस्पर्धा सकारात्मक भए पनि अहिलेको भनाई भने रणनीतिक भएको बताउँछन् ।

“विगतमा राम्रै सिट जितेको एमालेको शक्ति अहिले खस्किएको अवस्था छ । माओवादी केन्द्र र नेकपा एससँग मिलेर चुनावमा जाने सम्भावना पनि देखेको छैन र यस्तो प्रस्ताव अघि सारेको छ,” विश्लेषक डा. विष्णु दाहालले भने, “यदि एमालेले राखेका प्रस्ताव कांग्रेसले मान्यो भने एमालेले त्यसको लाभ उठाउन सक्छ । तर, त्यस्तो सहमति दीर्घकालीन रुपमा अघि बढाउन सक्ने हो भने नेपाली राजनीतिलाई राम्रो पनि हुन सक्छ ।”

उनले दुइदलीय राजनीति सुरु भए जनतमा भ्रम छर्ने र एकले अर्काको तेजोबध गरेर भोट तान्ने राजनीति अन्त्य भएर विकास र समृद्धिको मुद्दामा राजनीति सुरु हुने पनि बताए ।