प्रचण्ड-माधव संग काँध मिलाउने कि नमिलाउने भन्ने विषयमा कांग्रेसले शुक्रबार जोखाना हेर्ने

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • chhanbin.com

स्थानीय चुनावमा सत्ता गठबन्धनमा सम्बद्ध दलहरूसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय लिने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्योल गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए । यसअघि बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवम् ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा लगायत विविध विषयमा छलफल हुने उल्लेख गरिएको थियो ।
प्रवक्ता महतले बैठकले गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सैद्धान्तिक निर्णय गर्ने बताए । पार्टीको अभियानको क्रममा सल्यान पुगेका प्रवक्ता महतले चैत्र ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्ने बताएका हुन् । उनले तल्ला तहमा पार्टी संगठनको अवस्था र गठबन्धनको आवश्यकताबारे तथ्यगतरुपमा पार्टीले विस्तृत अध्ययन गरेपछि मात्रै कहाँ–कहाँ गठबन्धन गर्ने भनेर टुंगो लगाउने बताए ।

‘सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने भन्ने हुन्छ । जे गर्दा बढी सिट जितिन्छ, त्यसै अनुसार निर्णय गर्ने हो,’ उनले भने, ‘एक्लै लड्दा बढी जितिने देखियो भने त्यही गरौँ । सहकार्य गर्दा बढी जितिने भयो भने त्यही अनुसार कसरी को–को गठबन्धन गर्ने हो, त्यो गर्नुपर्छ ।’

प्रवक्ता महतले पार्टीमा नेता कार्यकर्ताहरू अहिले गठबन्धन गर्ने वा नगर्ने भन्ने बहसमा अल्झिएको भन्दै त्यसरी अलमलमा पर्न आवश्यक नरहेको बताए । चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसभित्र चर्को मतभेद छ । तर, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चुनावमा गठबन्धन गर्ने र त्यसकालागि पार्टीमा निर्णय गरेर अघि बढ्ने बताइसकेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन सरकार बनेपछि मुलुकमा धेरै कुरा परिवर्तन भएको समेत दाबी गर्दै आएका छन् । तर, नेता शेखर कोइराला पक्षका नेताहरूले भने चुनावमा गठबन्धन गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । गठबन्धनको विषयमा कांग्रेसमा फेरि बिबाद चर्किन सक्ने देखिएको छ ।