गठबन्धन कांग्रेसको चाहना नभइ, समयको माग भएको सिंहको ठहर

  • प्रकाशित मिति : २०७८ चैत्र ५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीचको (सत्तारुढ) गठबन्धन कांग्रेसको चाहना नभइ, समयको माग र मुलुकको आवश्यकताका आधारमा निर्माण भएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाएको जनमतको अपमान गरेर, संविधान विपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको सिंहको भनाइ छ।

नेपाली कांग्रेसक काठमाडौं क्षेत्र नम्बर १० ले शनिबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले स्थानीय तहको चुनावमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्नेबारे कार्यकर्ताको सुझावका आधारमा निर्णय लिइने बताए। कार्यकर्ताबाट सुझाव लिइ केन्द्रीय समितिको बैठक बसेर चुनावमा गठबन्धनबीच तालमेल गरेर जाने कि नजाने भन्ने निर्णय हुने उनको भनाइ छ।

नेता सिंहले विगतको सरकारका कारण अहिले संघीयतामाथि प्रश्न उठेको बताए।

कम्युनिस्टहरु भ्रमको खेती गर्न सीपालु रहेको टिप्पणी गर्दै नेता सिंहले कांग्रेसका जनप्रतिनिधि र कांग्रेसको अगुवाइमा भएका कामका बारे प्रचार–प्रसार गरेर मत माग्न नेता/कार्यकर्तालाई आग्रह गरे। नेता सिंहले चुनावमा उम्मेदवार तय गर्ने विषयमा विगतका अनुभवबाट पाठ सिकेर विधिसम्मत रुपमा निर्णय गरिने पनि बताए।