शंकर पोखरेल भन्छन- माधव नेपाललाई छि:छि र दुर-दुर गर्नुपर्छ

  • प्रकाशित मिति : २०७८ चैत्र ५, शनिबार
  • chhanbin.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् । पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’

नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रुपमा रहेको उनले आरोप लगाए । ‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ महासचिव पोखरेलले भने ।

प्रचण्ड र माधव नेपाल देउवासँग गएपनि एमालेलाई केही मतलव नभएको तर बाटो बिराएका कार्यकर्तालाई चाहिँ फर्काउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए । एमालेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टीले विगतमा गरेका उत्कृष्ट कामको प्रचारप्रसार गरेर बैशाख ३० गते हुने निर्वाचनमा जनतासामु जान आग्रह समेत गरेका छन् ।

‘एउटा घरपनि नछुटाउनुस्, सबैलाई भेट्नुस् आजैदेखि चुनावमा लाग्नुस्’ एमाले पोखरेलले भने । ‘भक्तपुरमा नेमकिपाका कारण राष्ट्रिय राजनीतिमा पहुँच पुर्याउने नेता नभएकाले त्यसबारे लाग्ने समय आएको छ’ उनले भने । कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले कमजोरहरुले नै गठवन्धन बनाउँदै हिँड्ने भएकाले त्यो देखेर डराउन नहुने बताए ।

प्रचण्डले यता नभए उता सहकार्य गर्ने भन्दै घुर्की लगाएर हिँड्नु आफ्नो उचाई घटाउनुमात्र भएको उनको आरोप छ । कार्यक्रममा एमालेका नेताहरु काशीनाथ अधिकारी, वचन देउजा, बासुदेव थापा, मोहनवीर श्रेष्ठ लगायतले पार्टीलाई जिताउन सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।