नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै भएको नेता कार्यकर्ताहरूलाई रिल्याक्स गर्ने मुडमा नबस्न आग्रह गरेका छन् ।
सिन्धुलीको जिल्ला पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा दुर्घटना हुनसक्ने खतरा अझै पनि भएको भन्दै सजग गराएका छन् ।
‘विघटन गर्ने प्रवृत्ति अहिले पनि कायम छ । हामीले अझै पनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल प्रतिनिधिसभा विघटनलाई परास्त पार्यौँ, हामी अलिकति रिल्याक्स मुडमा बस्यौं’ प्रचण्डले आग्रह गर्दै भने, ‘दोस्रो पटक फेरि विघटन आयो । दोस्रो पटक हामीले जनतालाई सडकमा ल्याउन सक्ने स्थिति पनि थिएन । जनता ल्याउन पनि नहुने स्थितिमा हामीले गठबन्धन कायम गर्ने, संसदभित्रको वहुसंख्याको एकातिर केन्द्रित गर्ने काम भयो ।’
उनले अघिल्लो वर्ष संसद विघटन हुँदा सडकमा उत्रेका कारण खतरा टरेको बताए । ‘तपाईं हामी माओवादी र हिजो शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस लगायतका वामपन्थीहरु एकजुट भएर अगाडि नबढ्ने हो भने कुनै पनि देशमा दुर्घटना हुनसक्ने खतरा अहिले पनि कायम छ’ उनले भने, ‘खतरा अझै टरेको छैन । पोहोर साल विसर्जनवाद, विघटनवाद, प्रतिगमन, प्रतिक्रान्तिका झटारोहरु हामीले देख्यौं । हामी थोरै शक्तिका साथ सडकमा नउत्रेको भए, लाखौं जनतालाई नउतारेको भए दुर्घटना भइसकेको थियो । तर हामी जीवितै थियौं ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका वामपन्थीहरु खबरदारी गर्न सशक्त रुपमा अघि आएकै कारणले देश ठूलो भूमरीमा फस्नबाट रोकिएको उनको भनाइ छ ।