अझै पाँच दिन पल शाहलाई थुनामा राख्न अदालतले दियो अनुमति

  • प्रकाशित मिति : २०७८ चैत्र ४, शुक्रबार
  • chhanbin.com

तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो । पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिइन् ।

यता पलमाथिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ । पलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कारको अभियोगसहित मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले १४ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।