दोहोरो अंकले नेप्से घटे पनि आज मूल्य घटेका यी हुन् दर्जन कम्पनी

  • प्रकाशित मिति : २०७८ चैत्र २, बुधबार
  • chhanbin.com

सेयर बजारमा लगातार गिरावट आएको छ । यस साताको अघिल्ला दुई कारोबार दिनमा १०१ अंकले बढेको नेप्सेमा पछिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको हो ।

पछिल्ला दुई दिनमा नेप्से ३७ अंकले घटेको छ भने यस साता समग्रमा ६४ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७९ करोड घटेर साढे २ अर्बमा सीमित भएको छ ।

बुधबार सेयर बजार मापक सूचक नेप्से १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा आइपुगेको छ । यसदिन २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ ।

कारोबार भएका २३१ कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, गरिमा विकास बैंक १२ करोड र अपी पावर साढे १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूलयमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यसैगरी, मैलुङ खोला जलविद्युत् ६.१३, सोल्टी होटल ४.१७, ओरेन्टल होटल ३.०२, नेपाल फाइनान्स २.६४, तारागाउँ होटलको सेयर मूल्य २.६५ प्रतिशतले बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज युनाइटेड इदी मर्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.९२ प्रतिशत गुमाएका छन् ।