गैंडाकोटको पुलिस खोरबाट निकालेर पल शाहलाई फेरि किन तनहुँकै खोरमा लगियो ?

  • प्रकाशित मिति : २०७८ चैत्र १, मंगलवार
  • chhanbin.com

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई गैंडाकोटबाट तनहुँ फर्काइएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएपछि तनहुँ फर्काइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर प्रहरीले बयान लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले शाहको बयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता गरिएकाे बताएका छन् । पल आज साँझसम्म तनहुँ पुग्नेछन् ।

शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि ती नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ ।