फुट्नै लागेको जसपाको विभाजन यसरी रोकियो, क-कसको चित्त कसरी बुझाईयो ?

  • प्रकाशित मिति : २०७८ चैत्र १, मंगलवार
  • chhanbin.com

संघीय परिषद र दुईदिने केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भएपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको प्रतिक्रिया थियो– तत्कालका लागि पार्टी विभाजनको संकट टर्‍यो।

सोमबार केन्द्रीय समिति बैठक सकिँदै गर्दा अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई, वरिष्ठ नेता अशोक राई, नेताहरू महिन्द्रराय यादव राजेन्द्र श्रेष्ठ हात उठाएर तस्बिर खिचाएपछि विभाजनमा तत्कालका लागि विराम लागेको नेताहरूको बुझाइ छ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच बढ्दै गएको दूरी तथा ‘टकराव’ का कारण पार्टी विभाजनको संघारमा पुगिसकेको आकलन पछिल्लो समय जसपाकै कतिपय नेता र कार्यकर्ताहरूले गरेका थिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा टिकट वितरणलाई लिएर भट्टराई असन्तुष्ट बनेका थिए। त्यसका साथै विधानले दुई अध्यक्षको व्यवस्था गरेकोमा यादव एक्लै अध्यक्ष बनेकोमा भट्टराई पक्षको असन्तुष्टि थियो।

जसपा विभाजनपछि महन्थ ठाकुर बाहिरिँदा एउटा अध्यक्ष पद खाली छ। र, उनीनिकट नेताहरू भट्टराईलाई त्यो पद दिनुपर्नेमा जोड दिइरहेका थिए। तर, यसका लागि अध्यक्ष यादव तैयार थिएनन्। बहुअध्यक्षीय प्रणाली असफल भइसकेकोले यादव पक्षीय नेताहरू त्यसको विरोधमा देखिन्थे। बरू विधान नै संशोधन गर्नुपर्ने उनीहरूले अडान लिए।

एमसिसीबारे सबै दलहरूको प्रष्ट धारणा आइसक्दासम्म जसपा भने अनिर्णीत नै थियो। र, आधिकारिक धारणा बनाउन जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो। कार्यकारिणी समिति बैठकले अध्यक्ष र संघीय परिषद अध्यक्षलाई नभइ स्थानीय तह निर्वाचनमा उम्मेदवार मनोनयनका लागि हस्ताक्षर गर्ने अधिकार वरिष्ठ नेता राईलाइ दिने निर्णय गर्‍यो।

पार्टीलाई विवादबाट जोगाउन अध्यक्ष यादवले राईको नाम प्रस्ताव गरेर मध्यमार्गी उपाय अपनाएका थिए। त्यसैगरी त्यसैगरी कार्यकारिणी समिति बैठकले तीन सदस्यीय केन्द्रीय बोर्ड गठन गर्ने निर्णयसमेत ग¥यो। यादव, भट्टराई र राई सम्मलित तीनजना रहनेगरी बोर्ड गठन गर्ने निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको छ।

केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बस्न नसकेको बेला आइपरेको महत्वपूर्ण निर्णय अब तीन सदस्यीय बोर्डले गर्नेछ।

अध्यक्ष यादवले पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘सामूहिक र समावेशी’ नेतृत्वका लागि संघीय परिषद अध्यक्ष भट्टराईले दबाब बढाइरहेका बेला जसपाले यी दुई महत्वपूर्ण निर्णय गर्‍यो।

एमसिसीका साथै पार्टीका अन्य एजेन्डामाथि छलफल गर्न बोलाइएको १३ फागुनमा बोलाइएको कार्यकारणी समिति बैठकअघि भट्टराई पक्ष छुट्टै भेला गरेपछि अध्यक्ष यादव पक्ष थप सशंकित बने।

कार्यकारिणी समितिको बैठकअघि भट्टराई पक्षले छुट्टै बोलाएको भेलालाई उनीहरूले ‘पार्टी विभाजनको तयारी’ का रूपमा अथ्र्याएका थिए।फुटको संघारमा पुगिसकेको पार्टीलाई एमसिसीले जोगाइ दिएको जसपाका एक कार्यकारिणी सदस्यले बताए।

‘एमसिसी अनुमोदन गर्न सहमति नजुटेको भए गठबन्धन टुटेर कांग्रेस र एमालेको सहकार्य लगभग पक्का भइसकेको थियो,’ ती नेताले भने,‘एमसिसीबारे हाम्रो पार्टीमा प्रष्ट दुई धार थियो। पक्षमा रहेकाहरूको कांग्रेस–एमालेसँग सहकार्य हुने सम्भावना बढेको थियो।’

उनकाअनुसार एमसिसीमा सहमति जुटेसँगै जसपा विभाजनको खतरा टरिसकेको छ। तर, यसबीचमा यादव, भट्टराई र राईबीच भागबण्डाको राजनीति सुरू भएपछि जसपामा रहेका पूर्वराजपाका नेताहरू पनि संगठित भएका छन्।

केन्द्रीय कार्यकारिणी समितिको बैठक चलिरहेकोबेला पूर्वराजपाका नेताहरूको छुट्टै भेलासमेत भएको छ। जसपा विभाजित हुँदा पूर्वराजपाका महिन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रसिंह यादव, मनिष सुमनलगायतका नेताहरू अध्यक्ष यादवकै पक्षमा उभिएका थिए।

जसपामा छँदा पनि उनीहरू अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईका पक्षमा विभाजित थिए। तीन शीर्ष नेताबीच भागबण्डा भइरहँदा पनि राजपाबाट आएकाहरूले केही नपाएपछि संगठित हुनुपरेको पूर्वराजपाका एक नेताले बताए।

कार्यकारिणी सदस्य सुमनले पनि पूर्वराजपा नेताहरूको छुट्टै बैठक बसेको बताए। उनले कुनै विशेष नभइ समायोजनका साथै पार्टी पदाधिकारीका विषयमा छलफल गर्न पार्टीको सल्लाहमै छुट्टै भेला बसेको बताए।

तत्कालीन राजपासँग एकता गरेर जसपा बने पनि समायोजन कार्य पूरा हुनसकेको छैन। त्यसैगरी अध्यक्ष, संघीय परिषद अध्यक्ष र वरिष्ठ नेताबाहेक जसपाले अरू पदाधिकारीहरूको टुंगो लगाउन बाँकी छ।

‘समायोजनको काम बाँकी छ। कार्यकारिणीमा पदाधिकारी तोकिएको छैन। सबैजना सदस्य नै छन्,’ सुमनले भने,‘साविकको समाजवादीका नेतालाई यथावत राखेर राजपाबाट आएकालाई कसरी व्यवस्थापन गर्ने पार्टीको सल्लाहअनुसार नै हामीहरूको भेला भएको हो। यसबाहेक अरू केही पनि होइन।’

उनले आफूहरूको भेला भागबण्डा खोज्नका लागि नभएर समायोजनलाई पूर्णता दिन तथा पदाधिकारीमा के कसो गर्नेबारे टुंगो लगाउनमात्र भएको बताए। पछिल्लो समय जसपा विभाजन हुने आकलनहरू भइरहे पनि अब टाढासम्म त्यसको सम्भावना नरहेको सुमनले दाबी गरे।

‘विभाजनको कुरा त पहिले पनि थिएन, पार्टी सुदृढीकरणको कुरामात्रै उठेको हो,’ उनले भने,‘कार्यकारिणी हुँदै केन्द्रीय समिति बैठक सम्पन्न भइसकेपछि अब विभाजन भन्ने कुरा ‘दिल्ली दूर’ भइसक्यो।’