जारी शैक्षिक सत्रका कक्षा १० सम्मका सबै परीक्षा २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्रै नतिजा प्रकाशन गर्नुपर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।
शैक्षिक सत्र २००७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको सूचनामा उल्लेख छ।
केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।
यसका साथै, एसईई परीक्षा वैशान ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, विद्यालयहरुले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेबाट सुरु गर्नुपर्ने सूचनामा उल्लेख छ।