नेप्से बढ्दा आज यी हुन् धेरै मूल्य बढेका कम्पनी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३०, सोमबार
  • chhanbin.com

सेयर बजारमा झिनो अंकको बढोत्तरी आएको छ । आइतबार एकैदिन १०१ अंकले बढेको नेप्सेमा आज झिनो अंकको वृद्धि भएको हो । ब्रोकरको डाटा सेन्टरमा समस्या आएर दिउँसो सवा १ बजेदेखि कारोबार हुन सकेन । नियमित समयभन्दा झन्डै २ घण्टा कारोबार नभएपछि कारोबार रकम ह्वात्तै घटेको छ । आज सवा १ अर्बको मात्र सेयर किनबेच भएको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से ०.१५अंकले बढेर २६६८.११ विन्दुमा पुगेको छ । यसदिन २२० कम्पनीको १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपैयाँ बराबरको २३ लाख ४९ हजार १० कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको राताम्मे भएको छ । जीवन समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले घटेको छ ।

कारोबार भएका २२८ कम्पनीमध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन ६ करोड र अपि पावर ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेको छ । त्यसैगरी, इमर्जिङ नेपाल ४.०२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, स्वाबलम्बन लघुवित्त ३.२५, प्रभु इन्स्योरेन्स ३, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एशियन लाइफ, फर्स्ट माइक्रोफाइनान्स, गुराँस लाइफ र सूर्य लाइफको २ प्रतिशतभन्दा धेरैले बढेको छ ।