नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा कुनै विवाद नरहेको दावी गरेका छन्।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै सुदूरपश्चिममा आएका प्रचण्डले सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘हामी सँगै छौं, पार्टीमा कुनै विवाद छैन, हामी एकजुट भएर स्थानीय तहको निर्वाचनमा होमिएका छौं।’
केही समयअघि एमसीसीको बारेमा विवाद देखिए पनि अहिलेलाई थाती राख्दै निर्वाचनमा एकमत भएर अघि बढेको प्रचण्डको भनाइ छ। प्रचण्डले यसो भनिरहँदा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भने मुसुमुसु हाँसिरहेका थिए।
नेता श्रेष्ठलाई सँगै राखेका प्रचण्डले सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको जानकारी दिए। देशका अन्य प्रदेशमा गठबन्धनका सबै दल सरकारमा सहभागी भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेको उनले बताए।
‘सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो, प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र मबीच भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो’, प्रचण्डले भने, ‘तर मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ।’
उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व भने परिवर्तन नहुने बताए। यहाँ माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। प्रचण्डले अर्ली इलेक्सनको सम्भावना आफूले नदेखेकोसमेत बताए। एमालेको अवरोध कायमै रहे संसद भंग हुन्छ कि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यसबारेमा गठबन्धनमा कुनै छलफल भएको छैन, त्यो सम्भावना पनि छैन।’
उनले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेसमेत बताए।