नेप्से चम्किदा आज ह्वात्तै मूल्य बढेका यी हुन् १५ कम्पनी

  • प्रकाशित मिति : २०७८ फाल्गुन २९, आईतवार
  • chhanbin.com

सेयर बजारमा तेहेरो अंकको बढोत्तरी आएको छ । गत बिहीबारदेखि उछाल आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै शतक हानेको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से १५३ अंकले बढेको छ ।

वाणिज्य बैंकहरुले चैतमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो । बैंकहरुले चैतमा पनि फागुनमा कायम ११.०३ प्रतिशत ब्याजदर कायम राख्ने भएका हुन् ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक साढे २ अर्बको कारोबार हुँदै आएकोमा आज पौने ५ अर्ब पुगेको छ । आइतबार सेयर बजार मापक सूचक नेप्से १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा परिसूचमका हरियाली छाएको छ । जीवन समूह सबैभन्दा धेरै ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूह पनि ५ प्रतिशतले बढेको छ । कारोबार भएका २२८ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, अपी पावर ३० करोड र आइसीएफसी फाइनान्स २१ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

तेहेरो अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्य लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट, प्रडेन्सियल इन्स्योरेन्स, जनलरल इन्स्योरेन्स, नारायणी विकास, बैंक, हिमालयन ऊर्जा र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।