नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरूद्ध दायर रिटको सुनुवाइका लागि पेशी तोकिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित १४ जना सांसद तथा सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको हो। रिटमाथि सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ।
एमाले अध्यक्ष ओलीले नेपालसहित १४ सांसदको पद खारेज गर्न, एकीकृत समाजवादीको वैधानिकता रद्द गर्न माग गर्दै भदै १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। यसअघि ११ पटकसम्म चढेको पेशीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रोपटक आदेशमा सक्कल कागजात झिकाउन आदेश भएको थियो।
त्यसयता अधिकांश पेशी हेन नभ्याउनेमा पर्दै आइरहेको छ। फागुन १ गते सुनुवाइका लागि चढेको पेशी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो।
त्यही दिन सत्तासाझेदार दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। एमाले विभाजन हुँदा सभामुख सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै अध्यक्ष ओलीले रिट हालेका थिए।
रिटमा सभामुख सापकोटासहित निर्वाचन आयोग र एमाले विभाजन गरेका १४ सांसदलाई विपक्षी बनाइएको छ।