कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय फेरि लयमा फर्किदै, दुई महिनामा कहाँ बाट कति आए ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २८, शनिबार
  • chhanbin.com

कोभिडका कारण सन् २०१९ को अन्त्यदेखि सुस्ताएको पर्यटन व्यवसाय पछिल्लो दुई महिनाको तथ्यांकले सुधार हुने संकेत देखाएको छ। पछिल्ला दुई महिनामा नेपाल भित्रिने पर्यटकको केही सुधार भएकाले सकारात्मक अपेक्षा गर्न सकिने नेपाल पर्यटन बोर्डले जनाएको हो।

सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत वर्ष जनवरी र फेब्रुअरीमा १८ हजार २० जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ।

बोर्डका अनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटक नेपाल आएका छन्। गत वर्षको फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो गत वर्षको तुलनामा ११६.१ प्रतिशत सुधार हो।

यस वर्ष जनवरीमा भारतबाट ३ हजार ९ सय १६ पर्यटक नेपाल आएका छन्। यस्तै बंगलादेशबाट १ हजार २ सय ३६, चीनबाट ३ हजार २१, फ्रान्सबाट २८३, जर्मनीबाट ३६५ र बेल्जियमबाट १८० पर्यटक नेपाल आएका छन्। यस्तै नेदरल्याण्ड्सबाट १ सय ४२, स्पेनबाट १ सय ५१ जना नेपाल आएको तथ्यांक बोर्डमा छ।

यस्तै फेब्रुअरीमा, सबैभन्दा बढी भारतबाट नेपाल भित्रिएका छन्। फेब्रुअरीमा नेपाल भित्रिने पर्यटकमध्ये भारतीयको संख्या ५ हजार ९९८ जना छ। यो कुल पर्यटक संख्याको ३० प्रतिशत हो। यसपछि अमेरिका र बेलायतबाट पर्यटक भित्रिएका छन्। फेब्रुअरीमा अमेरिकाबाट ३ हजार १९५ जना (कुल पर्यटकको १६.१६ प्रतिशत) र बेलायतबाट २ हजार २१७ (११.२२ प्रतिशत) छन्।

फेब्रुअरीमा नेपाल भित्रिएका अस्ट्रेलियाली पर्यटकको संख्या १ हजार ५२ छ भने बंगलादेशबाट ८ सय ८८ जना पर्यटक नेपाल आएका छन्। नेपाल आएका पर्यटकमध्ये अस्ट्रेलियालीको हिस्सा ५.३२ प्रतिशत छ भने बंगलादेशीको हिस्सा ४.४९ प्रतिशत भएको बोर्डको तथ्यांकले जानकारी दिएको छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन क्षेत्र पुरानो गतिमा फर्कने आशा बढेको बताए। ‘नेपालमा पर्यटन क्षेत्रमा प्रतिवर्ष करिब १० अर्बको कारोबार हुने गरेको थियो। तर, २०१९ दखि २१को अन्त्यसम्म करिब २३ महिनामा नेपालमा कोरोना भाइरसका कारण पर्यटन उद्योगले २ खर्बभन्दा बढी घाटा व्यहोरेको छ,’ लामिछानेले भने।

सन् २०२१ मा १ लाख ५० हजार ९ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांक छ। सन् २०१९ को अन्त्यमा विश्वभर कोभिडको लहर सुरु भएसँगै पर्यटकीय गतिविधि नराम्ररी प्रभावित बनेका थिए।