धनुषा कांग्रेसको सभापतिमा पजियारले कसरी जिते ? निर्वाचित भएपछि यसरी खुले योगेन्द्र

  • प्रकाशित मिति : २०७८ फाल्गुन २८, शनिबार
  • chhanbin.com

धनुषा क्षिरेश्वर नगरपालिकाका प्रमुख याेगेन्द्र पजियार कांग्रेसकाे जिल्ला सभापतिमा निर्वाचित भएका छन् । जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदानबाट कांग्रेस संस्थापन पक्षले समर्थन गरेका सन्तोष यादवलाई हराउँदै पजियार सभापति बनेका हुन् । उनलाई जिताउन शेखर कोइराला प्यानलका दिनेश प्रसैलाको खास भूमिका रह्यो । सभापतिमै लडेका प्रसैलाले दोस्रो चरणको मतदानमा पजियारलाई साथ दिएका थिए । पजियार बिमलेन्द्र निधि खेमाका हुन् । पर्सैयाले पजियारलाई समर्थन गरेपछि पार्टी सभापति शेरबहादुर देउवाको साथ पाएका सन्तोष यादवले चुनाव हारे । यसैबीच धनुषा जिल्ला सभापतिमा निर्वाचित पजियारसित गरिएकाे संक्षिप्त कुराकानीः

संस्थापन पक्षले साथ नदिँदा जित्छुजस्ताे लागेकाे थियाे ?

म सिधा नेता हुँ । मलाई धेरै बङ्गाएर कुरा गर्न आउँदैन । मलाई ठूला ठूला भाषण पनि आउँदैन । धनुषाको सभापति जित्नुअघि म तीनपल्ट क्षेत्रीय सभापति भएर पार्टीका लागि काम गरेकाे मान्छे हुँ । जिल्लामा कांग्रेसको पकड बनाउन मैले राम्राे भूमिका निभएकाे छु । केन्द्रीय महाधिवेशनमै मेरा नेताहरूलाई जिल्ला अधिवेशनमा उमेद्वारी दिने बताएको थिए । त्यहीअनुरूप मैले उमेद्वारी दिएँ । जित्छु भनेकाे थिएँ । जितेँ । पार्टीमा मेराे याेगदान र कार्यकर्ताकाे विश्वासलाई नै म जितको आधार मान्छु । कसले, कसलाई साथ दियो भन्ने कुराले अहिलेलाई मायने राखे पनि त्यो चिरस्थायी हुँदैन । जित्नेमा म ढुक्क नै थिएँ । साथीहरूले राम्रो सहयोग पनि गर्नुभयो, जसले जितलाई थप सहज बनायो ।

दाेस्राे चरणकाे मतदानमा दिनेश प्रसैलाकाे साथ नपाएकाे भए त गाह्राे थियाे नि हाेइन ?

दिनेशजी मेरा अनन्य मित्र हुनुहुन्छ । उहाँ र मैले पहिला पनि क्षेत्रीय प्रतिनिधि भएर सँगै काम गरेका थियौँ । हामी निधि र कोइराला प्यानल एउटै बनाएर लड्ने सोचमा थियौँ । तर, परिस्थिति नै मिलेन । उहाँको साथ आउँछ भन्नेमा त ढुक्कै थिएँ । पाएँ पनि ।

अब कांग्रेसलाई जिल्लामा कसरी हाँक्नुहुन्छ ?

आन्तरिक प्रतिस्पर्धामा कसैको हार र कसैको जीत हुने कुरा स्वाभाविक हाे । जिल्ला नेतृत्वका रूपमा पार्टीका सबै नेता कार्यकर्तालाई एकढिक्का बनाएर अघि बढ्ने छु । पार्टीका केन्द्रीय नीतिनिर्देशनलाई कार्यान्वयन गर्नेछु । जिल्ला, स्थानीय तहका माग, आवश्यकता पहिचान गरी ती पूरा गर्न पहल गर्न लाग्ने छु । अब तीनै तहको निर्वाचन हुँदै छ । त्यसमा पार्टीलाई जिताउने गरी कार्ययोजना बनाएर अघि बढ्छु । सभापतिको उमेद्वारी दिनुअघि धनुषाका १६० वडामा पुगेकाे थिएँ । कार्यकर्ता तथा नेताहरूसँग छलफल गरेकाे थिएँ । उनीहरूकाे समग्र कुरा र आवश्यकताबारे सुनेकाे थिएँ । सम्बाेधनका कार्ययाेजना सुनाएकाे थिएँ । उनीहरूको विश्वास त्यहीँबाट जितेको हुँ । अब उनीहरूसँग गरेका बाचा पूरा गर्न सबैकाे सहभागिताको हिसाबमा पार्टी चलाउँछु ।

स्थानीय चुनावका केही रणनीति छन् कि ?

स्थानीय तहको निर्वाचनमा कार्यकर्तालाई प्रशिक्षण दिनेदेखि नगर-नगरमा, वडा-वडामा पार्टी बिस्तार गर्ने याेजना छ । निर्वाचनमा धनुषा जिल्ला कांग्रेसमय बनाउने छु । यसमा कार्यकर्ता तथा पार्टीको हितमा काम गर्नेलाई प्राथमिकतामा राखेर अघि बढ्ने छु ।

तपाईं क्षिरेश्वर नगरपालिकाकाे प्रमुख पनि हुनुहुन्छ । पार्टीकाे जिल्ला प्रमुख पनि हुनुभयाे । स्थानीय तहमा यसपालि पुनः चुनाव लड्ने कि नलड्ने ?

म लड्ने वा नलड्ने भन्दा पनि पार्टीलाई जिल्लामा कसरी बलियाे बनाउने भन्नेमा मेराे ध्यान ज्यादा छ । त्यसमा काम गर्नु छ । नगरपालिका नेतृत्वका रूपमा मैले नगरपालिकामा गरेकाे कामकाे मूल्याङ्कन जनताले गरिहाल्ने छन् । जनताले पुनः चाहे, पार्टीले फेरि विश्वास गरेमा उठ्न सकिन्छ ।