वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।
एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको छोरीको विवाहमा सरिक हुन वीरगन्ज आएका बेला ओलीले मेयर सरावगीलाई पार्टी प्रवेश गराएका हुन् । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित थिए ।
गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत बनेका थिए । उनी स्थानीय चुनाव अघि फोरम प्रवेश गरेका थिए । पार्टी प्रवेशलगत्तै उनले मेयरको टिकट पाएका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी(जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए । यसअघि उनी कांग्रेस प्रवेश गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर एमालेमा प्रवेश गरेका हुन् ।
शनिबार नै बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको। उनीसहित जसपाका केही नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्ने तयारीमा छन् ।