नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पार्टीले चुनावी अभियानपछि निर्णय लिने बताएका छन् ।
शुक्रबार काठमाडौंको आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले एक महिना चल्ने चुनावी अभियानको रिपोर्ट आएपछि गठबन्धनबारे पार्टीले निर्णय लिने बताएका हुन् ।
कांग्रेसले २९ फागुनदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान चलाउँदैछ । पूर्वमहामन्त्री सिंहले चुनावमा गठबन्धन कि नगर्ने भन्नेबारे पार्टीभित्र तीनथरि मत रहेकाले पार्टीले सर्वसम्मतीमै निर्णय लिने बताए ।
‘चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीनथरि कुरा आएका छन् । एक्लै चुनावमा जानुपर्छ, गठबन्धनलाई निरन्तरता दिनुपर्छ र जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार निर्णय गर्नुपर्छ भन्ने फरक फरक मत छ,’ उनले भने, ‘एक महिने अभियानको रिपोर्ट आएपछि हामीले के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’