ठेकेदारको कार्यक्रममा पुगेर मन्त्री झाँक्रीले तिनै ठेकेदारको उछितो काढ्दै यसरी झारिन् झाँको

  • प्रकाशित मिति : २०७८ फाल्गुन २७, शुक्रबार
  • chhanbin.com

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायको काम गर्न नसकेको गुनासो गरेपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छन् । संघको २३औँ साधारणसभामा उनले सरकारको नियन्त्रण बाहिरको कुरा गरेर काम रोकियो वा रोक्छौँ भन्ने कुरा नगर्न निर्माण व्यवसायीलाई आग्रह पनि गरेकी छन् ।

‘अहिले निर्माण व्यवसायीले अत्याधिक महँगी भएको भन्दै काम गर्न नसकेको बताउनुभएको छ, होलिडेको अवस्थामा’, मन्त्री झाँक्रीले भनिन् ‘सरकारको नियन्त्रण बाहिर रहेको कुरालाई लिएर काम रोक्छौँ भन्ने र माग थप्ने काम गर्नु हुँदैन । प्रभावकारी काम समयमै गरिनुपर्छ ।’

यसअघि महासंघका अध्यक्ष सिंहले अत्यधिक मूल्यवृद्धिका कारण काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै छिटो मूल्यसूची प्रकाशन गर्न आग्रह गरेका थिए ।

‘अहिले पेट्रोलियम पदार्थको मूल्य ६० प्रतिशत बढेको छ, डन्डी र सिमेन्टको मूल्य दिनकै ५ रुपैयाँका दरले बढेको छ’, उनले भने ‘अहिले हामीले अत्यधिक मूल्यवृद्धिले काम गर्न सकेका छैनौँ, छिटो दोस्रो मूल्यसूची प्रकाशन गर्न आवश्‍यक छ ।’

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावली संशोधन भएपछि व्यवसायीका धेरै माग सम्बाेधन भएको बताए ।