शिक्षकको माग बमोजिम निजामती कर्मचारी सरह निवृत्तिभरण दिन मन्त्रालय यसरी भयो राजी

  • प्रकाशित मिति : २०७८ फाल्गुन २६, बिहीबार
  • chhanbin.com

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा स्थायी रहेका श्रीमान् श्रीमती दुवै जनालाई निवृत्तिभरण दिने व्यवस्थामा सहमति जनाएको छ । यही फागुन ९ गते नेपाल शिक्षक महासंघको सो मागमा मन्त्रालयले सहमति जनाएको हो ।

महासंघले श्रीमान् श्रीमती शिक्षण पेशामा स्थायी रहेको र कुनै कारणले एक जनाको निधन भएमा श्रीमान् वा श्रीमतीले ५० प्रतिशत निवृत्तिभरण पाउने व्यवस्था आउने शिक्षा ऐनमा व्यवस्था गर्नुपर्ने माग राखेका थिए । साेही मागअनुसार अघि बढ्ने विषयमा शिक्षामन्त्री देवेन्द्र पाैडेल सहमति जनाएका हुन् ।

हाल श्रीमान् श्रीमती दुवै शिक्षण पेशामा भए एकले मात्र निवृत्तिभरण पाउने व्यवस्था छ । तर निजामती कर्मचारीका श्रीमान् श्रीमती एउटै पेशामा आबद्ध रहेको अवस्थामा सरकारले मृतकको निवृत्तिभरणको ५० प्रतिशत श्रीमान् वा श्रीमतीलाई दिने गरेको छ । जुन व्यवस्था शिक्षण क्षेत्रमा अहिलेसम्म लागू भएको छैन ।