पछिल्लो दुई साता यता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर तेलको भाउमा ह्वात्तै बढेको हो ।
दुई मुलुक बीच युद्ध सुरु हुनु अघि प्रतिब्यारेल ८५ डलर रहेको कच्चा तेलको मूल्य बढेर सोमबार १३९ डलरसम्म पुगेको थियो । यो पछिल्लो डेढ दशककै यताकै उच्च हो । यद्यपि, आज एकैदिन तेलको भाउ १७ प्रतिशतले घटेर ११० डलरमा आएको छ । गत वर्ष कोरोना महामारीमा बेला तेलको भाउ घटेर २४ डलरसम्म झरेको थियो ।
विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरुले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ आकाशिएको थियो । रुसी तेलमा पश्चिमा देशले प्रतिबन्ध लगाएसँगै रुसले प्रतिब्यारेल मूल्य ३०० डलरसम्म पुग्ने सक्ने चेतावनी दिएको थियो । जसले विश्व बजारमा तेलको भाउ अझै बढ्ने अनुमान गरिएको छ ।
रुसले विश्वमा कुल मागको ८ प्रतिशत तेलको आपूर्ति गर्ने भएकाले उसले गर्ने निर्णयले विश्वभरी नै तेलको मूल्य उच्च बढ्ने आकलन गरिएको छ । यद्यपि, बिहीबार संयुक्त अरब इमिरेट्सले तेल उत्पादन वृद्धि गर्न सहयोग गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेकको सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछिरुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने घोषणा गरेको हो ।
साथै, ओपेक राष्ट्रहरुले पनि उत्पादन वृद्धि गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य वृद्धि रोक्न केही भूमिका खेल्न सक्ने देखिन्छ । रुस युक्रेन बीच वार्ता भइरहेको छ । यदि वार्ता सफल भएर युद्ध रोकिएमा भने तेलको मूल्य केही घट्न सक्ने आँकलन गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वभर महँगी बढ्दो क्रममा छ । ढुवानी लागत बढ्दा कच्चा पदार्थदेखि अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ । जसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारिरहेको छ ।
पेट्रोलियम पदार्थ अत्यावश्यक उपभोग्य वस्तु हो । यसको उत्पादन नहुने देशले अन्यदेशबाट आयात गर्दै आएका छन् । विश्वभर इन्धनको मूल्य फरक फरक रहेको छ । उत्पादन लागत, ढुवानी, प्रशोधन खर्चका आधारमा यसको मूल्य ठाउँ अनुसार फरक हुने गरेको छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशहरुमा इन्धनको मूल्य तुलनात्मक रुपमा सस्तो रहेको छ भने उत्पादन नहुने नेपाल जस्ता मुलुकमा उच्च रहेको छ । तेस्रो मुलुकसँग किनएको तेलमा पनि सरकारले उच्च कर लगाउने हुनाले नेपालमा पनि तुलनात्मक रुपमा इन्धनको मूल्य उच्च छ ।
ठूलो मात्रामा उत्पादन गर्ने खाडी मुलुकहरु, रसिया लगायत देशमा तुलनात्मक रुपमा पेट्रोलियम पदार्थ सस्तो रहेको छ भने नेपाल, युरोपेली लगायत मुलुकमा महँगो रहेको छ ।
कुन देशमा कति पर्छ ?
आजका दिन विश्व बजारमा पेट्रोलको औसत मूल्य १.२९ (१५७.३८ रुपैयाँ)अमेरिकी डलर प्रतिलिटर छ । ग्लोबल पेट्रोल प्राइस डटकमका अुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल पाइने देश हो भेनेजुयला । बिहीबारको तथ्यांक अनुसार भेनेजुयलामा प्रतिलिटर पेट्रोल ०.००२५ डलर अर्थात् नेपाली ३.०५ रुपैयाँ रहेको छ ।
भेनेजुयलापछि लिबिया सबैभन्दा सस्तोमा पेट्रोल पाइने दोस्रो देश हो । यहाँ प्रतिलिटर ०.००३२ डलर अर्थात् नेपाली ३.९०४ रुपैयाँ रहेको छ ।
यस्तै, इरानमा प्रतिलिटर ०.०५१ डलर अर्थात् ६.२२ रुपैयाँ, सिरियामा प्रतिलिटर ०.३१६ डलर अर्थात् ३८.५५२ रुपैयाँ, अल्जेरिया ०.३२१ डलर अर्थात् ३९.१६२ रुपैयाँ, कुवेत ०.३४६ अर्थात् ४२.२१२ रुपैयाँ, रसियामा ०.३७३ डलर ४५.५ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य रहेको छ ।
यस्तै, विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरेबियामा ०.६२१ डलर अर्थात् ७६ रुपैयाँ, दोस्रो ठूलो उत्पादक अमेरिकामा १.१७८ डलर अर्थात् १४४ रुपैयाँ छ ।
विश्वमा पेट्रोलको सबैभन्दा महंगो मूल्य हंङकङमा रहेको छ । यसदेशमा प्रतिलिटर पेट्रोल २.८३ डलर अर्थात् ३४५.२६ रुपैयाँ मूल्य रहेको छ । यसैगरी नर्वेमा २.६९३ अर्थात् ३२८.५ रुपैयाँ, डेनमार्कमा २.४०१ डलर अर्थात २९२.९२२ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य पर्छ ।
त्यस्तै, बेलायतमा २.०३९ डलर अर्थात् २४८.७५८ रुपैयाँ, जापानमा १.५३० डलर अर्थात् १८६.६६ रुपैयाँ, चीनमा १.३६८ डलर अर्थात् १६६.८९६ रुपैयाँ, भारतमा १.३३५ डलर अर्थात् १६२.८७ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य रहेको छ ।