देउवाले प्रधानमन्त्री हुन खोजेकै थिइनँ भन्दै आफ्नो धरातल आफै देखाए, क-कसलाई दिए जस् ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २६, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने संकेत गरेका छन्।

विहिबार नेपाली कांग्रेस वीरगञ्जले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा आवद्ध दलहरुकाबीचमा चुनावी तालमेल गर्ने संकेत गरेका हुन्। उनले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न नेता-कार्यकर्तालाई निर्देशन समेत दिए।

‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ। सबैको सहयोगमा अगाडि जानुपर्छ। तपाईंहरूलाई थाहा छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ?,’ उनले भने, ‘धेरै ठाउँ हारिएको थियो। मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ।’

गठबन्धनकै कारण आफू प्रधानमन्त्री बनेको भन्दै उनले केही ठाउँमा समस्या देखिएका भए त्यसलाई समधान गर्दै अघि बढ्नुपर्ने बताए। ‘वास्तवमा यसपालि मैले प्रधानमन्त्री हुन खोजेकै थिइनँ। माओवादी, माधव नेपालजी, जसपालगायत गठबन्धनका सबै साथीहरूले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ,’ उनले भने।